
वीरगन्ज, असोज २९ । सवारी साधन पार्किङ गर्ने स्थान व्यवस्थित नहुँदा आर्थिक एवम् व्यापारिक नगरी वीरगन्ज कुरुप बन्दै गएको छ ।
व्यवस्थित पार्किङस्थलको आभावमा जथाभावी गाडी पार्किङ गर्नाले यहाँका सर्वसाधारण तथा वीरगन्जमा आउने यात्रु समेत समस्यामा पर्ने गरेका छन् ।
‘सवारी साधन पार्किङ गर्नेस्थल नभेटिएपछि याताउति भौतारिरहेका छौं,’ टाटा सुमो गाडी लिएर वीरगन्ज आएका भारतको विहार, सीतामढी नरहाका गीरधारी गुप्ता भन्छन्, ‘जथाभावी पार्किङ गरौं भने ट्राफिक प्रहरीले कारबाही गर्ने डरले सीमा क्षेत्रमै गाडी छोडेर बीरगन्ज आएका छौं ।’
बीरगन्ज अव्यवस्थित सहरको रुपमा देखिएको छ । सहरको मुख्य भाग घन्टाघर, मीनाबजार, माइस्थान, आदर्शनगर र अस्पताल चौक भरिभराउ भएको तथा ई–रिक्सा, रिक्सा र मोटरसाइकल अवरोधका कारणले ट्राफिक जाम हुने समस्या यहाँ व्याप्त रहेको छ ।
दैनिकजसो काम विशेषले आउने सेवाग्राहीको भिड हुने ठाउँमा सवारी साधन पार्किङ गर्नेस्थल नहुँदा जथाभावी पार्किङ गर्नाले बाटो अवरोध हुने गरेको छ । खास गरेर ई–रिक्सा जथाभावी पार्किङ गर्नाले सडक जाम हुने गरेको सर्वसधारण तथा साना सवारी सधानलाई हिड्न समेत अप्ठ्यारो हुने गरेको स्थानीयवासीको गुनासो छ ।
बजार क्षेत्रमा पार्किङस्थल नभएका कारण अव्यवस्थित हुनुका साथै बजारमा समान किन्न आउनेले पसल अगाडी नै सवारी सधान पाकिङ गर्नाले सर्वसाधारणलाई मर्का पर्ने गरेको छ ।
व्यवस्थित पार्किङस्थलको अभावमा जथाभावी सवारी साधन राख्नाले आर्थिक नगरी वीरगन्जको सौन्दर्य मासिदै गई कुरुप बन्दै गएको हुँदा व्यवस्थित पार्किङस्थल निर्माण गर्नुपर्ने स्थानीयवासीको माग छ । (रासस)
प्रतिक्रिया दिनुहोस्