१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


नेपाल एसिया कपका लागि छानियो


0
Shares

काठमाडौं, असोज २९ । विश्वकप महिला छनोट क्रिकेटको अर्को चरणमा पुग्न असफल नेपाल समूहमा दोस्रो हुँदै एसिया कपका लागि छानिएको छ ।

हङकङमा सम्पन्न छनोट प्रतियोगितामा पहिलो हुँदै थाइल्यान्ड विश्वकपको अर्को चरणमा छानिँदा नेपाल भने दोस्रो हुँदै एसिया कपका लागि छानिएको हो ।

थाइल्यान्डले ६ मध्ये पाँच खेल जित्यो भने नेपाल तीन खेल जितेर उपविजेता बनेको हो ।

समूहको अन्तिम खेलमा थाइल्यान्डसन्ग ७ विकेटले पराजित हङकङ र नेपालसँग पराजित चीन भने बाहिरिए ।

शनिबार नेपालले चीनमाथि ४ विकेटको जित निकाल्यो । पहिले ब्याटिङ गरेको चीनले ७ विकेटको क्षतिमा ८५ रन बनाउन सक्यो ।

जवाफमा नेपालले १७ ओभर ३ बलमै ६ विकेट गुमाएर विजय हासिल ग¥यो ।

नेरी थापाले २२ तथा सीता रानामगरले २० रन बनाएको इनिङ्समा अलराउन्डर एवं ‘प्लेयर अफ द म्याच’ कप्तान रुबिना क्षेत्रीले ९ बलमा अविजित रहँदै १३ रन जोडिन् ।

रुबिनाले १० रन खर्चेर २ विकेटसमेत लिइन् ।

चार टोली सहभागी प्रतियोगिताको पहिलो चरणमा नेपालले चीनलाई तथा दोस्रो चरणमा हङकङ र चीनलाई पराजित गरेको हो ।

अन्तिम खेलमा जित हासिल गरेसँगै नेपाल मंसिर १२ गतेदेखि थाइल्यान्डमा हुने एसिया कपका लागि टिकट काट्न सफल भएको हो ।

एसिया कपमा नेपालसँगै टेस्ट मान्यता प्राप्त राष्ट्रहरु भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकासँगै आयोजकको हैसियतले थाइल्यान्डले सीधा प्रवेश पाएका छन् ।