
फाइल फोटो
भीमदत्तनगर, असोज २९ । जंगलीहात्तीको आक्रमणबाट कन्चनपुरको बेलौरी नगरपालिका–१५ रामघाटका ३५ वर्षीया सुन्दरी चौधरीको शनिबार दिउँसो मृत्यु भएको छ ।
श्रीमान् आशाराम चौधरीसित साइकल चढेर शंकरपुरको चानँदेउ आउनेक्रममा स्थानीय गोरखनाथ सामुदायिक वनमा हात्तीले आक्रमण गर्दा महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले जानकारी दिए ।
जंगलको बाटोमा साइकलयात्रा गरिरहेका चौधरी दम्पतीलाई जंगलीहात्तीले लखेट्दा मृतकका श्रीमान् आशाराम साइकल छाडेर भाग्न सफल भएपनि श्रीमती सुन्दरीको भने हात्तीले कुल्चेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
हात्तीको बथानबाट भाग्न सफल भएका आशारामले जंगलछेउकै गाउँ पुगेर घटनाबारे जानकारी गराएका थिए ।
प्रहरीकाअनुसार घटनाबारे छानबिन गर्न इलाका प्रहरी कार्यालय बेलौरी र शंकरपुर प्रहरीचौकीको टोली घटनास्थल पुगेको छ ।
विगत तीन सातायता कन्चनपुरका विभिन्न क्षेत्रमा भारतको दुधुवा नेसनल पार्कका जंगलीहात्तीले आतंक नै मच्चाउँदै आएका छन् ।
करिब ३५/४० ओटाको बथानमा रहेको हात्तीको समूहले कन्चनपुरको करिब १५० बिगाहाको धानबाली नस्ट गरिसकेको छ ।
हात्तीपीडितले जिल्ला वन र शुक्लाफाँटा आरक्ष कार्यालयमा क्षतिपूर्तिका लागि उजुरीसमेत दिएका छन् ।
हात्तीले बेलौरी, पुनर्वास, त्रिभुवनबस्ती, शंकरपुर र भीमदत्तनगरपालिकाका विभिन्न वडामा बढी क्षति पुर्याएका छन् ।
जंगलीहात्ती धपाउन स्थानीय प्रशासन र स्थानीयबासी जुटिरहेको तर नियन्त्रणमा ल्याउन सकिएको छैन । रासस
प्रतिक्रिया दिनुहोस्