
काठमाडौं, असोज ३० । आज ३६ औं विश्व खाद्य दिवस । प्रत्येक वर्ष अक्टोबर १६ मा खाद्य प्रविधि, गुणस्तर र खाद्यमा पहुँचका लागि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइन्छ ।
यस वर्षको नारा ‘जलवायु परिवर्तन भईरहेको छ, खाद्य कृषि फेरिनै पर्छ’ भन्ने रहेको छ ।
विश्वभर जलवायु परिवर्तनसँगै कृषि र खाद्य सुरक्षा चुनौतीपूर्ण बन्दै गएकोतर्फ विश्वका मुलुकहरुलाई सचेत गराउन यसवर्षको नारा जलवायु परिवर्तन सम्बन्धी राखिएको हो ।
संयुक्त राष्ट्र संघको विशिष्टिकृत निकाय खाद्य तथा कृषि संगठनको आह्वानमा यो दिवस मनाउने गरिएको हो ।
उक्त संगठनको स्थापना भएको दिन पारेर प्रत्येक वर्ष अक्टोबर १६मा खाद्य दिवस मनाउन थालिएको हो । सन् १९४५ अक्टोबर १६मा क्यानडामा खाद्य तथा कृषि संगठनको स्थापना भएको हो ।
पछि सन् १९७९ मा संयुक्त राष्ट्र संघको बीसौँ साधारणसभाले संगठन स्थापना भएको दिन पारी खाद्य दिवस मनाउने प्रस्ताव पारित गरेअनुरूप विश्वभरि सन् १९८१ देखि यो दिवस मनाउन थालिएको हो ।
प्रतिक्रिया दिनुहोस्