१७ श्रावण २०८२, शनिबार | Sun Aug 3 2025


नेपाली सेनाबाट चिनियाँ सेनाले सिक्न चाहेको छ : चिनियाँ रक्षामन्त्री


0
Shares

                                                                  फाइल फोटो

काठमाडौं, असोज ३० । विपद् व्यवस्थापनमा नेपाली सेनाको क्षमता बृद्धि गर्ने कार्यमा चीनले सहयोग पुर्‍याउने प्रतिबद्धता जनाएको छ ।

‘सुरक्षा संवाद र सहयोग अभिबृद्धि तथा अन्तर्राष्ट्रिय सम्बन्धको नयाँ ढाँचा निर्माण’सम्बन्धी बेइजिङमा सम्पन्न सातौैं सियाङसान सम्मेलनमा भाग लिएर स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै रक्षामन्त्री बालकृष्ण खाणले ‘शान्ति स्थापना कार्यमा खटिएर नेपाली सेनाले देखाएको व्यावसायिक दक्षता, इमान्दारी र बहादुरीको चिनियाँ रक्षामन्त्रीले प्रशंसा गरी ‘विलक्षण’ क्षमता बोकेका नेपाली सेनाबाट चिनियाँ सेनाले पनि केही सिक्न आवश्यक रहेको’ बताएको जानकारी दिए ।

रक्षामन्त्री खाणले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्नेक्रममा सुरक्षा र सहयोगलाई कसरी सँगै लैजाने भन्ने विषयमा सियाङसान सम्मेलनमा गहन छलफल भएको बताए ।

उनले भने–‘आतंकवादका कारणले सुरक्षामा देखिएका समस्या र समाधानका विषयमा नेपालको धारणा सम्मेलनमा राखिएको छ ।’

सियाङसान सम्मेलनकाक्रममा मन्त्री खाणसँगको भेटमा चिनियाँ रक्षामन्त्री छाङसँगले नेपालको संविधानप्रति चीन र चिनियाँको सद्भाव र समर्थन रहेको जानकारी गराउँदै नेपालले शान्ति, समृद्धि र प्रगतिमा सफलता हासिल गरोस् भनी शुभकामना व्यक्त गरे ।

दुबै देशका सरकारका उच्चस्तरीय प्रतिनिधिमन्डलको भ्रमणको आदान–प्रदानलाई निरन्तरता दिन आवश्यक रहेका विषयमा सोक्रममा विचारविमर्श भएको थियो ।

दुबै रक्षामन्त्रीबीचको भेटमा नेपाली सेना र चिनियाँ सेनाबीचको सम्बन्धका विभिन्न आयामकाबारेमा छलफल भएको मन्त्री खाणले जानकारी दिए ।

द्रुतगतिको आर्थिक प्रगतिमा रहेको चीनले कुनैपनि मुलुकको समृद्धिका लागि छिमेकीमुलुकमा शान्ति र प्रगति हुन आवश्यक छ भन्ने पक्षलाई राम्ररी महसुस गरेको आफूले पाएको मन्त्री खाणले बताए ।

सम्मेलनमा ६४ मुलुकका ४०० प्रतिनिधिको सहभागिता थियो ।

रक्षामन्त्री खाणको स्वागतका लागि प्रधानसेनापति राजेन्द्र क्षत्री, रक्षासचिव श्रीधर सापकोटा र नेपाली सेनाका रथीवृन्द विमानस्थल पुगेका थिए । रासस