काठमाडौं, कार्तिक १ । ब्रिक्स सम्मेलनमा भाग लिन भारतको गोवा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीबीच भेटवार्ता भएको छ ।
आइतबार राति होटल लिलामा भएको भेटवार्तामा नेपाल र भारतको प्रतिनिधिमण्डलबीच पूर्व सहमतिहरु कार्यान्वयन लगायतका विषयमा छलफल भएको थियो । भारतीय प्रधानमन्त्री मोदीले विकासका मुद्दामा दुई देशबीच सहकार्य गरेर अगाडी बढ्नुपर्ने खाँचो औंल्याएका थिए ।
भेटवार्तामा प्रधानमन्त्री दाहालले सार्क शिखर सम्मेलनबारे चासो राखेका थिए । जवाफमा मोदीले उपयुक्त वातावरण निर्माण हुन बाँकी रहेको बताएका थिए ।
पाकिस्तानमा हुने भनिएको सार्क शिखर सम्मेलन सदस्य राष्ट्र भारतले बहिस्कार गर्ने घोषणा गरेपछि स्थगित भएको थियो ।
संविधान कार्यान्वयनका लागि नेपाल सरकारले गरेको प्रयासलाई समर्थन गर्दै भारतीय प्रधानमन्त्री मोदीले यो विषय छिटो टुंगिने आशा गरेका थिए ।
भेटमा नेपालका तर्फबाट प्रधानमन्त्री दाहालसहित परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्रसचिव शंकरदास बैरागी, प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि शर्मा, शिष्टाचार महापाल दीपक अधिकारी लगायत थिए । त्यसैगरी भारतीय प्रतिनिधिमण्डलमा मोदीका अतिरिक्त विदेशमन्त्री सुष्मा स्वराज, नेपालका लागि भारतीय राजदूत रञ्जित राय, विदेश मन्त्रालयका अधिकारीहरु सहभागी थिए ।










प्रतिक्रिया दिनुहोस्