
कविराज घिमिरे
धनकुटा, कार्तिक १ । धनकुटाको बुढीमोरङ्गमा एकै परिवारका सात दाजुभाई मिलेर गाउँ विकासमा लागेका छन् । हाल बसोबास हङकङ तथा बेलायतमा रहेका दाजुभाई आफु जन्मिए तथा हुर्किएको गाउँका लागि बाटो, खेल मैदान, बिजुली, मन्दिर आदिको विकासमा लागेका हुन् ।
बुढीमोरङ्ग गाउँ विकास समिति–१ तुम्फुवामा जन्मिएर हाल रोजगार तथा व्यसायका सिलसिलामा हङकङ तथा बेलायतमा रहेका एकै परिवारका सात दाजुभाईले तुम्फुवामै करिब २० रोपनी क्षेत्रफलमा फुटबल मैदान निर्माण गरिदिएका छन् ।
स्वर्गीय टक्कर बहादुर ईवा र कान्छी रानी ईवाको सम्झनामा उनीहरुका सात भाई छोराहरु माधवप्रसाद, कृष्णबहादुर, ज्ञानबहादुर, अमृत, दिलबहादुर, श्रीकुमार र नेत्र बहादुर ईवाले निर्माण सुरु गरेका हुन् ।
पहाडी भिरालो जमिनलाई सम्याई मैदानको रुप दिन हाल उनीहरुले एक करोड २५ लाख रुपैयाँ खर्च गरिसकेका छन् । मैदानलाई पूर्णरुप दिएर ठुला प्रतियोगिता गराउने उनीहरुको लक्ष्य छ । खेलबाट आफ्नो गाउँको नाम चिनाउने उद्देश्यसहित खेल मैदान निर्माण गरेको कृष्ण ईवाहाङ बताउँछन् ।
खेल मैदानमा भवन शौचालय तथा सोही गाउँमा २४ लाख रुपैयाँको लागतमा १० किलोमिटर रिङ्ग रोड, अढाईलाख रुपैयाँको लागतमा जाल्पादेवी मन्दिर, गाउँमा बिजुली बिस्तारका लागि एक लाख २५ हजार रुपैयाँ त्यस्तै स्थानीय स्कुलको भौतिक तथा शैक्षिक अवस्था सुधारका लागि समेत लाखौं रुपैया खर्च गरिसकेका छन् ।
गाउँमा पर्यटन विकासका लागि पिकनिक स्पट निर्माण गरिदिने समेत उनीहरुको योजना छ । आफुले पूर्वाधार निर्माण गरिदिए पनि स्थानीयले खासै चासो नदिएकोमा उनीहरु निराश छन् ।
गाउँमै धेरै कुराको सुविधा पाएपछि स्थानीय भने दंग छन् ।
आफुहरु सो गाँउमा नरहे पनि पनि उनीहरुले जन्मभूमिप्रति देखाएको माया र सद्भाव प्रशंसनीयमात्रै छैन, उदाहरणीय पनि छ ।
प्रतिक्रिया दिनुहोस्