काठमाडौं, कात्तिक १ । नेपालको सर्वाधिक पुरस्कार राशीको ‘रेडबुल फुटसल लिग–२०७३’ का खेलहरु सोमबारदेखि फेरि सुचारु भएका छन् ।
बडादसैंको अवधिमा रोकिएका खेलहरु सोमबारदेखि सुचारु भएका हुन् । सोमबारका खेलहरुमा ढुकु फुटसल हब र हरिसिद्धी फुटसल विजयी भएका छन् ।
समूह ‘ए’को खेलमा ढुकु फुटसल हब, बालुवाटारले आदर्श फुटसल ढुंगेअड्डालाई ५–२ ले हरायो ।
ढुकु फुटसलका लागि सबिन केसीले दुई गोल गरे भने सुरज राउत, अंसु कार्की र सबिन खड्काले एक–एक गोल गरे ।
पराजित टोली आदर्श फुटसलका समीर कार्की र सुरेन्द्र कटवालले एक–एक गोल गरेका थिए ।
एएमए इभेन्ट्सको आयोजनामा जारी रेडबुल फुटसल लिगमा ढुकु फुटसल हबको यो पहिलो जित हो भने आदर्श फुटसल ढुंगेअड्डाको यो लगातार दोस्रो हार हो ।
सोमबारै भएको दोस्रो खेलमा हरिसिद्धी फुटसलले बिजी ब्रदर्शलाई ६–५ ले हराएको छ ।
पेप्सीकोलास्थित बिजी ब्रदर्शको मैदानमा भएको खेलमा पाहुना टोली हरिसिद्धीलाई विजयी गराउन ‘म्यान अफ द म्याच’ लालबहादुर तामाङले तीन गोल गरे ।
यसैगरी रफीक महर्जन, विकाश महर्जन र निरज मर्हजनले एक–एक गोल थपे ।
जारी प्रतियोगितामा हसिरिद्धी फुटसलको यो पहिलो जित हो भने बिजी ब्रदर्शको लगातार दोस्रो हार हो ।
यसअघि, पहिलो चरणको खेलमा हरिसिद्धी फुटसललाई सामाखुसी फुटसलले ७–३ ले हराएको थियो ।





प्रतिक्रिया दिनुहोस्