
काठमाडौं, कात्तिक २ । पाँच वर्षसम्मका बालबालिकालाई मंगलबार देशभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ ।
जन्मेको ६ महिनादेखि पाँच वर्षसम्मका करिब ३३ लाख बालबालिकालाई भिटामिन ‘ए’ र तीमध्ये एक वर्षदेखि पाँच वर्षसम्मका २९ लाख बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार छुटेका बालबालिकालाई भने बुधबार खुवाइनेछ ।
दुई दिनसम्म खुवाइने कार्यक्रम रहेकाले आफूलाई पायक पर्ने ठाउँमा गएर खुवाउन बालस्वास्थ्य महाशाखाले आह्वान गरेको छ ।
बिहानैदेखि सबै जिल्ला, नगरपालिका तथा गाउँ विकास समिति अन्तरगतका प्रत्येक वडामा स्थानीय महिला स्वास्थ्य स्वयंसेविकाहरु परिचालन गरिएको छ ।
जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउन देशभर करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका खटिएका छन् । नेपालमा भिटामिन ‘ए’ कार्यक्रम सन्चालन भएपछि वर्सेनि १२ हजार बालबालिका अकालमा हुने मृत्युबाट जोगिएको स्वास्थ्य मन्त्रालायले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्