१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


पूर्वाधारको अभावमा सुदुरपश्चिममा खेलकुद गतिविधि सुस्त (भिडियो)


0
Shares

टेकराज अवस्थी
डडेल्धुरा, कात्तिक २ । खेल मैदान नहुँदा डडेल्धुरामा खेलकुद गतिविधि सुस्त बनेका छन् । मैदान अभावकै कारण आगामी मंसिर ८ गतेदेखि १५ गतेसम्म पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी पनि प्रभावकारी हुन सकेको छैन । पूर्वाधार अभावकै कारण प्रतिभावान खेलाडी ओझेलमा परेका छन् ।

डडेल्धुरालाई सुदूरपश्चिमको केन्द्र भनिन्छ तर जिल्लामा एउटा पनि ठूलो खेल मैदान छैन, खेलाडीहरुलाई खेलकुद सम्बन्धि विभिन्न गतिविधि संचालन गर्न एकदमै समस्या ब्यहोर्नु परेको जिल्ला खेलकुद विकास समिति डडेल्धुराका अध्यक्ष राजेन्द्र थापा मगरले बताए ।

ग्रामिण क्षेत्रबाट चौरमा खेल्दै जिल्लास्तरसम्म खेलाडी उत्पादन भएका छन् । भलिबल, फूटबल, कराँते, क्रिकेट, तेक्वान्दो, ब्याडमिन्टन, एथलेटिक्स, बक्सिङ, बुद्धिचाल, टेबलटेनिस, कबड्डी र दौडका लागि प्रचुर सम्भावना छ तर उक्त खेलहरुका लागि डडेल्धुरामा न त खेलमैदान छ, न प्रशिक्षक र पूर्वाधार नै । खेल क्षेत्र अगाडी बढाउन तीनजनाले काम चलाएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डम्बर भण्डारीको भनाइ छ ।

खेल मैदानका लागि सम्भावित ठाउँ पनि अध्ययन गरिएको छ तर राज्यले आवश्यक बजेट विनियोजन नगर्दा सदरमुकामको एक मात्र टुँडिखेल प्रयोग गर्नुपर्ने बाध्यता रहे पनि युवा खेलाडीहरु दत्तचित्त भई लागिरहेको खेलाडी बताउँछन् ।

डडेल्धुराकै सन्तान तेक्वान्दो खेलाडी दिपक बिष्ट, बक्सिङ खेलाडी डम्बरदत्त भट्ट, भारोत्तोलन खेलाडी स्व. भरत साउद र नेपाली सेनामा कार्यरत एथलेटिक्स रियो ओलम्पिक खेलाडी सरस्वती भट्टराईले डडेल्धुरा मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमा ओलम्पियन भई नेपालकै पहिचान दिन सफल भएका खेलाडीको क्षेत्रमा पूर्वाधारको कमीका कारण खेल क्षेत्रले गति लिन सकिरहेको छैन । एकातिर खेल क्षेत्रका लागि राज्यले पर्याप्त ध्यान दिन नसकिरहेको बेला खेल क्षेत्रमा मौलाउदै गईरहेको राजनीतिले पनि बिकृति ल्याएको क्रिकेट प्रशिक्षक बाशुदेव जोशी बताउँछन् ।

न्यून श्रोतसाधनमा पनि खेल सामग्रीहरु जुटाउनु पर्ने र गाउँकै मैदानबाट छनौट गरि खेलप्रतिको आकर्षण र खेल वातावरण निर्माण भईरहेको छ तर अन्तर्राष्ट्रिय मञ्चमै नाम कमाउन सफल व्यक्तित्व भएका डडेल्धुराका खेलाडीले पूर्वाधार नपाउँदा प्रेरणा र अवसरबाट बञ्चित छन् । पूर्वाधार नभए पनि उपयुक्त हावापानी र अन्य सुविधाका लागि सुदूरपश्चिमको केन्द्र डडेल्धुरा बहुउद्देश्यीय सम्भावना भएकोले खेल मार्फत पर्यटन विकासमा समेत टेवा पुग्ने खेल क्षेत्रको विकासमा सम्बन्धित स्थानीय निकाय एवं सरकारले ध्यान दिनु जरुरी छ ।