१८ श्रावण २०८२, आइतबार | Mon Aug 4 2025


बहुलाहा कुकुरले टोकेर महिला र चौपायाको मृत्यु, स्थानीयमा त्रास


0
Shares

उदयपुर, कात्तिक २ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१ बोक्से तथा बाबरी क्षेत्रमा एक हप्तायतादेखि बौलाहा कुकुरको बिगबिगी बढेको छ ।

स्थानीयवासी राजकुमार राईकाअनुसार एक हप्ताभित्र बहुलाहा कुकुरको टोकाइबाट एक महिला र एउटा गाईको मृत्यु भएको छ भने एक बालिका सख्त घाइते भएकी छन् ।

बाबरीका ७० वर्षीया मनसरी राईको बहुलाहा कुकुरको टोकाइबाट मृत्यु भएको र अर्का १० वर्षीया बालिका रेजिना राई घाइते भएको प्रहरीले जनाएको छ ।

बहुलाहा कुकुरकै टोकाइबाट स्थानीय राजकुमार राईका गाईको पनि मृत्यु भएको छ ।

६ दिनअगाडि नै कुकुरले टोकेपछि सोमबार एउटा गाईको मृत्यु भएको बताइएको छ ।

गाईलाई बहुलाहा कुकुरले टोकेको थाहा नहुँदा सो गाईको दूध पनि धेरैले खाएका कारण अहिले स्थानीयवासीमा रेबिज रोगको त्रास बढेको गाईपालक राईले बताए ।

उक्त गाईको दूध खाने सबैलाई अहिले जिल्ला अस्पतालबाट चिकित्सकसहितको टोली पठाएर रेबिजविरुद्धको खोप दिन थालिएको प्रहरी प्रमुख नरबहादुर केसीले जानकारी दिए ।

महिला, गाई र बालिका टोक्ने कुकुर पनि सोमबार बिहान मरेको प्रहरीले बताएको छ ।

सो बहुलाहा कुकुर सोमबार मरेपछि प्रहरीले सम्भावित अरु कुकुर मार्ने अभियान सुरु गरेको छ । रासस