
काठमाडौं, असार २४ । दुध तथा दुग्धजन्य पदार्थको गुणस्तरीयताप्रति खाद्य वैज्ञानिकहरुले चिन्ता व्यक्त गरेका छन् ।
डेरी उद्योगहरुबाट उत्पादित प्रशोधित दुधको परीक्षण गर्दा सुक्ष्म जीवाणु कोलिफर्म र खाने सोडा लगायतका रसायनहरु समेत भेटिएकोप्रति नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघ (नेफोष्टा)ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
खाद्य पदार्थको गुणस्तर तथा स्वच्छताको विषयमा सञ्चार माध्यमहरुमा बारम्बार समाचार आउँदा पनि सरकार गुणस्तरीयता कायम गर्न गम्भीर नरहेकोप्रति विज्ञहरुले गुनासो व्यक्त गरेका छन् ।
नेफोष्टाले आइतबार राजधानीमा कार्यक्रम गरी ग्रामीण अर्थतन्त्रको मेरुदण्ड दुग्धजन्य व्यवसाय नै धरासायी हुन लागेको भन्दै दुःख व्यक्त गरेको छ । कोलिफर्म जीवाणुहरुको प्रत्यक्ष सम्बन्ध खाद्य पदार्थ उत्पादन तथा प्रशोधन गर्ने वातावरणको स्वच्छता तथा सरसफाईसँग नै रहन्छ ।
स्वच्छ र गुणस्तरीय दुग्धजन्य उत्पादनका लागि उत्पादक, व्यवसायी, उपभोक्ता, सरकार सबैको एकीकृत पहल आवश्यक हुनेमा संघको जोड छ । दुध तथा दुग्धजन्य पदार्थमा गुणस्तर र स्वच्छता हासिल गरी विदेशी दुग्ध उद्योगसँग प्रतिस्पर्धा गर्न स्वदेशी उद्यमीलाई सक्षम बनाउने दायित्व सरकारको रहेको पनि वैज्ञानिकहरुले बताएका छन् ।
गुणस्तर तथा स्वच्छताको समस्याको दिर्घकालीन समाधानको खोजी गरिनुपर्नेमा संघले जोड दिएको छ । यसका लागि आवश्यक सहयोग गर्न संघ तयार रहेको भन्दै विभिन्न सुझाव संघले दिएको छ ।
प्रतिक्रिया दिनुहोस्