
पाँचथर, कात्तिक ३ । दशैं मनाउन बिदामा बसेका पाँचथरका सरकारी कार्यालयका कर्मचारी काममा नफर्किएपछि सेवाग्राही मर्कामा परेका छन् ।
विदा सकिएको एक हप्ता वित्दासमेत अधिकांश कार्यालयका कर्मचारी फर्किएका छैनन् । सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर बस्नेतले अधिकांश कर्मचारी अझै काममा नफर्किएको बताए ।
उनका अनुसार १० वटा सरकारी कार्यालयका प्रमुखसहित ६० जनाभन्दा बढी कर्मचारी अनुपस्थित छन् ।
खानेपानी तथा सरसफाई सवडिभिजन, तथ्यांक, फिदिम नगरपालिका र सिंचाइ विकास डिभिजनमा कार्यालय प्रमुखसहित ५–५ जना, कृषि विकास कार्यालयमा प्रमुखसहित ९ जना, पशु सेवा कार्यालय, जिल्ला वन कार्यालय र नापी कार्यालयमा प्रमुखसहित ६–६ जना, जिल्ला शिक्षा र जिल्ला स्वास्थ्य कार्यालयमा प्रमुखसहित ७–७ जना कर्मचारी अनुपस्थित भेटिएका हुन् ।
अनुपस्थित रहेका कर्मचारीलाई तत्काल स्पष्टिकरण सोधी चित्त बुझ्दो जवाफ नआए विभागीय कारवाहीका लागि सिफारिस गरिने प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्