१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


प्रधानमन्त्री निवास बालुवाटारमा अस्थायी शिक्षकको धर्ना, यस्ता छन् माग


0
Shares

काठमाडौं, कात्तिक ३ । अस्थायी शिक्षकले आफूलाई आन्तरिक प्रतियोगिताबाट स्थायी गरिनुपर्ने माग राख्दै बुधबार पनि आन्दोलनका कार्यक्रमलाई यथावतै राखेका छन् ।

अस्थायी शिक्षक संघर्ष समितिले अस्थायी शिक्षकको आन्तरिक प्रतियोगिता गर्नुपर्ने, स्थायी हुन नसकेकालाई औषधिको सुविधा प्रदान गर्नुपर्नेलगायतका माग राखी बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएका हुन् ।

समितिले ६० वर्ष पुगी अवकाश प्राप्त अस्थायी शिक्षकलाई औषधोपचार र उपदानको व्यवस्था गर्नुपर्ने, स्थायीका लागि हुने परीक्षामा उत्तीर्ण हुने शिक्षकको पदावधि अस्थायी नियुक्ति भएकै मितिदेखिको गणना हुनुपर्नेलगायत माग राखेको छ ।

समितिका अध्यक्ष नीरेन्द्र कुँवरले भने–‘शिक्षा ऐन (आठौं संशोधन)ले अस्थायी शिक्षकको मागलाई सम्बोधन गर्न सकेको छैन । त्यसैले उक्त ऐनलाई पुनः संशोधन गर्नुपर्छ ।’

उनले गुणस्तरीय शिक्षाका लागि अस्थायी शिक्षकको अवस्थामा सुधार ल्याउनुपर्नेमा जोड दिँदै सरकारले अस्थायी शिक्षकका समस्या सम्बोधन नगरी शिक्षामा गुणस्तर ल्याउन नसकिने बताए ।

लामो समयदेखि आफूहरुको मागलाई बेवास्ता गरेको भन्दै समितिले मंगलबारदेखि विभिन्न आन्दोलनका कार्यक्रम सुरु गरेको हो ।

शिक्षा ऐन (आठौं संशोधन)ले अस्थायी शिक्षकलाई ‘गोल्डेन हेन्डसेक’ (अवकाश) र स्थायीका लागि परीक्षा दिने दुई विकल्प दिएको छ ।

यदि स्थायीका लागि दिने परीक्षामा असफल भए उनीहरूले खालीहात बिदा हुनुपर्ने प्रावधान छ ।

लिखित परीक्षाअघि नै ‘गोल्डेन हेन्डसेक’ चाहने शिक्षकले त्यसका लागि आवेदन दिइसक्नुपर्नेछ । रासस