फाइल फोटो
काठमाडौं, कात्तिक ३ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको महत्वपूर्ण घटक तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)ले संविधान संशोधनबारे सरकारको आधिकारिक धारणा माग गरेको छ ।
तीनबुँदे सहमतिको मुख्य बुँदा संविधान संशोधनप्रति सरकारले देखाएको उदासिनताप्रति ध्यानाकर्षण भएको जनाउँदै तमलोपाले अहिलेसम्म सरकारमा सामेल प्रमुख दलद्वारा कुनै औपचारिक निर्णय नहुनुले सरकारको नियतमाथि नै शंका उत्पन्न भएको जनाएको छ ।
तमलोपाको केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, सांसद एवं जिल्ला अध्यक्षको संयुक्त बैठकले सरकारले अविलम्ब मोर्चासमक्ष आफ्नो धारणा स्पस्ट गरी संविधान संशोधनको प्रक्रिया प्रारम्भ गर्न जोडदार माग गरेको हो ।
बैठकको निर्णय बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै तमलोपाले ‘प्रस्तावित संघीय प्रदेश संरचनामा प्रस्तावित स्थानीय तहको मधेसमा न्यून संख्या एवं प्रकृति पनि विगतको विभेदकारी मानसिकता र नीतिको निरन्तरता हो’ भन्दै यस्तो निर्णय आफूलाई कदापि मान्य नहुने जनाएको छ ।
बैठकले पार्टीको वर्तमान स्थितिबारे अवगत गराउन र नयाँ उर्जाका साथ सम्पूर्ण स्थितिको सामना गर्न गाउँ–गाउँमा व्यापक सदस्यता वितरण र जनजागरण अभियान सन्चालन गर्ने निर्णय पनि गरेको छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले सत्तारुढ दलले विभिन्न बहानामा संविधान संशोधनको विषय अलमल्याउँदै गएकाले संविधान संशोधन नभएसम्म आफ्ना विरोधका कार्यक्रम जारी रहने बताए ।
फरक प्रसंगमा अध्यक्ष ठाकुरले सद्भावना पार्टीसँगको एकताबारे कुराकानी चलिरहेपनि कुनै निर्णय नभएको जानकारी दिए । रासस









प्रतिक्रिया दिनुहोस्