
प्रकाश लम्साल (इमेज)
बारा, चैत १९ । बारा र पर्साका हावाहुरी प्रभावितहरुलाई राहत जुट्नेक्रम सुरु भएको छ ।
विभिन्न सामाजिक संघ–संस्था, समूह र व्यक्तिहरुले पीडितहरुलाई भेटेर राहत दिन थालेका छन् । तर, पीडितहरुले भने राहत नपाएको गुनासो गरेका छन् ।
विभिन्न राजनीतिक दलदेखि प्रदेश सरकारहरुसम्मले आँधी–बेहरीपीडितहरुलाई राहतको घोषणा गरिरहेका छन् ।
स्वतःस्फूर्तरुपमा चाउचाउ, बिस्कुट, चिउरालगायत खाद्यसामग्री, पानी र लत्ताकपडा लिएर जानेहरु पनि छन् । तर, पुगेका राहत सामग्री पर्याप्त नहुँदा पीडितहरु भने समस्यामा नै छन् ।
पीडितहरुलाई अहिले मुख्य समस्या भनेकै रात काट्ने देखिएको छ । चिउरा र बिस्कुट खाएर दिन कटाएपनि हावाहुरीले घरबार नै भत्काइदिँदा रात कहाँ–कसरी काट्ने भन्ने उनीहरुको चिन्ता छ ।
आइतबार रातिदेखि नै खुला आकाशमुनि रात बिताउन बाध्य उनीहरुले पालको व्यवस्था गरिदिन माग गरेका छन् ।
संघ र प्रदेश सरकारले आवश्यक त्रिपालको व्यवस्था अझै गर्न सकेका छैनन् । विभिन्न संघ–संस्थाले खानका लागि सामूहिक मेस चलाएका छन् ।
तर, सुत्ने व्यवस्था नहुँदा भने सुत्केरी महिला, नवजात शिशु र वृद्धवृद्धालाई बढी समस्या छ ।
खुला स्थानमा बस्नुपर्दा लामखुट्टे थप अर्को समस्या बनेको छ । साना बालबालिकाको बिजोग छ ।
आँधी–बेहरीले ट्युबेलहरुसमेत उखेलेपछि पिउने पानीको समस्या भएको छ । राहतस्वरुप वितरण गरिएका पानी पनि अपर्याप्त छ ।
मरेका जनावरहरुका कारण बस्ती दुर्गन्धित बन्दै गएको छ । जसले गर्दा रोगको महामारी फैलने सन्त्राससमेत बढेको छ ।
प्रदेश नम्बर–२ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल पीडितहरुलाई सक्दो सहयोग गर्न आग्रह गर्छन् ।
आँधी–बेहरीका कारण बाराको परवानीपुर गाउँपालिका–४ को चैनपुर, फेटा गाउँपालका–१ को भल्वी बरुलिया र सोही गाउँपालिका–४ को पुरैनियाँ पूरै ध्वस्त भएको छ ।
यस्तै, कलैया उपमहानगरपालिकाको गमहरीया, पर्सौनी गाउँपालिका–४, कुतुवा, सुवर्ण गाउँपालिकाको हर्दिया, महागढीमाई गाउँपालिका–७, तेहगाइमा पनि व्यापक क्षति पुगेको छ ।
बारामा एक हजार ५०२ घरधुरी प्रभावित भएको प्रारम्भिक तथ्यांक छ ।
प्रतिक्रिया दिनुहोस्