
काठमाडौं, कात्तिक ४ । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा आर्सनल र बार्सिलोनाले फराकिलो जित हात पारेका छन् ।
समुह ए अन्तर्गत बुधबार राति भएको तेस्रो चरणको खेलमा आर्सनलले बुल्गेरीयाको लुदोगोरेट्स राज्गार्डलाई ६-० ले हरायो ।
खेलमा आर्सनललाई विजयी गराउन मेसुत ओजिलले ह्याट्रिक गरे भने थियो वाल्कोट, अक्सलेड चेम्बरलीन र अलेक्सीस सान्चेजले एक–एक गोल गरे ।
यही समुहको अर्को खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन पि.एस.जीले स्विट्जरल्याण्डको एफसी बाजललाई ३-० ले हराएको छ ।
च्याम्पियन्स लिगअन्तर्गत समुह बी को खेलमा पोर्चुगलको बेनिफीकाले युक्रेनको डाईनामो किभलाई २-० ले हराउँदा टर्कीको बेसिक्तासले ईटालीको नापोलीलाई ३-२ ले पराजित गर्यो ।
उता समुह सी को खेलमा स्पेनको बार्सिलोना विजयी भएको छ । बार्साले इङ्लिस क्लब म्यानचेस्टर सिटीलाई ४-० ले हराएको हो ।
वार्सिलोनालाई विजयी गराउन लियोनल मेस्सीले ह्याट्रिक गरे भने नेईमारले एक गोल थपे ।
यो खेलमा म्यानचेस्टर सिटीका गोलरक्षक क्लाउडियो ब्राभो र बार्सिलोनाका डिफेन्डर जेरेमी म्याथ्युले रातो कार्ड खाएपछि दुवै टोली १० जनामा समेटिएका थिए ।
यही समुहको अर्को खेलमा जर्मनीको बोरुसिया एम्ब्याचले स्कटल्याण्डको सेल्टीकलाई २-० ले हराएको छ ।
युएफा च्याम्पियन्स लिगअन्तर्गत समुह डी का खेलहरुमा जर्मनीको बायर्न म्युनिखले नेदरल्याण्ड्सको पिएसभी आईन्डोभनलाई ४-१ ले हराउँदा स्पेनको एथ्लेटिको मड्रिडले रुसको एफसी रोस्तोभलाई १-० ले पाखा लगाएको छ ।
प्रतिक्रिया दिनुहोस्