२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


बृद्धाको बिलौना : ‘९ सन्तान मरे, तर मलाई काल आएन’


0
Shares

जाजरकोट, कात्तिक ४ । भेरीमालिका नगरपालिका–६ की भीमा वली अहिले एक सय २० वर्षकी भइन् । आफूले जन्माएका १२ छोराछोरीमध्ये नौ छोराछोरीको मृत्यु भइसकेको छ तर भीमा वली भने जीवितै छन् ।

एक सय २० वर्षीया भीमा वली अझै पनि आफू पोलेको मकै र भुटेको भट्ट (भटमास) खानसक्ने बताउँछिन् । आँखा नदेख्ने र कान नसुन्ने वलीको बोल्नलाई भने कुनै समस्या देखिएको छैन । ६ भाइ छोरा र ६ बहिनी छोरीलाई जन्म दिएकी वली आफूले काललाई पनि जितिसकेको बताउँछिन् ।

अन्तिम १२औँ सन्तानका रुपमा कान्छो छोरा टीकाराम वलीलाई २०१६ सालमा जन्म दिएको उनले जानकारी दिइन् ।

भात खाँदा आफूलाई घाँटीमा अड्कने बताउने भीमा वलीले मकैको रोटी दूधमा भिजाएर खान खजिलो हुने सबैलाई सुनाउँछिन् । प्रायः अन्य खानाबाट आफूलाई चिसो हुने बताउँदै आएकी वली चिया भने अनिवार्य खानैपर्ने बताउँछिन् । दैनिक खानामा दही, दूध पनि खाइरहेकी वलीले चाउचाउ खान पनि आफूले निकै मन पराउने बताउँदै भेट्न आउने सबैलाई यस्ता उपहार लिएर आउन सल्लाह दिन्छिन् ।

एक शताब्दीभन्दा बढी उमेर पुगेकी वलीले आफूले जन्म दिएका १२ सन्तानमध्ये हाल दुई छोरा र एक छोरी मात्र जीवित रहेको जानकारी दिइन् । जीवित रहेकामध्य छोरा हरिबहादुर वली र टीकाराम वली रहेका छन् भने छोरीमा ओइली खत्री रहेकी छन् ।

अन्य नौ दिदीबहिनी र दाजुभाइको यसअघि नै मृत्यु भइसकेको छ । विसं २०५२ सालमा नेपाली नागरिकताको प्रमाणपत्र बनाएकी वलीले नेपाल सरकारबाट बुझ्ने ज्येष्ठ नागरिक भत्ताले आफूले लगाउने कपडा र खानालाई चिनी, चियापत्ती खरिदमा खर्च गर्ने गरेको बताउँछिन् ।

उनको जन्म विसं १९५२/५३ सालतिर भएपनि नागरिकता बनाउँदा विसं १९७५ साल लेखिदिएको उनी बताउँछिन् । (रासस)