Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


महाअभियोगको प्रस्ताव आजै संसदमा पेश हुने, यस्तो छ तयारी


0
Shares

काठमाडौं, कात्तिक ४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव आजकै संसद् बैठकमा पेश हुने भएको छ ।

संसद्को आज दिउँसो १ बजे बैठकमा महाअभियोग प्रस्ताव पेश गर्ने तयारी छ । बैठकको सुरुमै सभामुख ओनसरी घर्तीले महाअभियोग प्रस्तावमाथि छलफलका लागि समय निर्धारण गर्ने र आजै अर्को बैठक बोलाएर छलफल गराउने तयारी भएको छ ।

प्रस्तावमाथिको छलफल सकिएमा आजै महाभियोग सिफारिस समितिमा पठाइने छ । संसदले हिजो मात्रै ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेको थियो ।

संसद्ले पठाएको प्रस्तावमाथि समितिले महाअभियोग लागेका व्यक्तिसँग बयान लिने, प्रमाण संकलन गर्ने र सफाइको मौका दिने जस्ता न्यायिक प्रक्रिया पुरा गरी प्रतिवेदन बुझाउने छ ।

र, समितिले महाअभियोग लगाउन उपयुक्त छ भन्ने राय सुझाव दियो भने संसद्मा निर्णयार्थ पेश हुन्छ । सो प्रस्ताव दुई तिहाइले पास भएमा कार्की स्वतः पदमुक्त हुनेछन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र १ सय ५७ जना सांसदले हस्ताक्षर गरेर हिजो महाअभियोग प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएका थिए ।

संसद् सचिवालयले दर्ता भएको प्रस्तावबारे राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुधबार नै जानकारी गराएको थियो ।

योसँगै अख्तियार प्रमुख कार्की निलम्बित भइसकेका छन् ।

Skip This