२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


लोकमानविरुद्ध महाअभियोग प्रस्तावः अख्तियारको कार्यबाहक प्रमुखमा दीप बस्न्यात


0
Shares

काठमाडौं, कात्तिक ४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त दीप बस्न्यात आयोगको कार्यबाहक प्रमुख आयुक्त बनेका छन् ।

प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाभियोगका प्रस्ताव दर्ता भएकाले बस्न्यात कार्यबाहक बनेका हुन् ।

आयोगका सहप्रवक्ता खगेन्द्रप्रसाद रिजालले आयोगको नियमावलीमा प्रमुख आयुक्तको अनुपस्थितिमा उपस्थित आयुक्तमध्ये वरिष्ठ आयुक्तले कार्यबाहक प्रमुख हुने व्यवस्थाबमोजिम सो निर्णय भएको बताए ।

आयोगमा हाल पाँच आयुक्त छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका १५७ सांसदले बुधबार महाभियोगको प्रस्ताव दर्ता गरेका थिए ।

नेपालको संविधानको धारा १०१ को उपधारा ६ मा ‘संवैधानिक निकायका प्रमुख वा पदाधिकारीले महाभियोग कारबाही प्रारम्भ भएपछि टुंगो नलागेसम्म आफ्नो पदको कार्यसम्पादन गर्न पाउने छैन’ भन्ने व्यवस्था छ ।

महाभियोगको प्रस्तावलाई संसदमा तत्काल कायम रहेका सदस्य संख्याको दुईतिहाइले पारित गर्नुपर्ने हुन्छ ।

यसैबीच, नेकपा मसालको खुला संगठन राष्ट्रिय जनमोर्चाले महाभियोग प्रस्तावको पक्षमा मतदान गर्ने भएको छ ।

मसालका महामन्त्री मोहनविक्रम सिंहले विहीबार विज्ञप्ति प्रकाशन गरी आफूले कार्कीको नियुक्तिमै असहमति जनाएको उल्लेख गरेका छन् । रासस