काठमाडौं, कात्तिक ४ । सत्तारुढ दल नेपाली कांग्रेसले आफूहरुसँग सल्लाह नै नगरी विहीबारको व्यवस्थापिका–संसदको बैठक स्थगित गरिएको भन्दै गुनासो गरेको छ ।
कांग्रेसका मुख्यसचेतक चीनकाजी श्रेष्ठले विगतमा संसदको कार्यसूची तथा अरु विषयमा सभामुखले आफूहरुसँग सल्लाह गर्ने गरेको भएपनि बुधबारदेखि भएका संसदका गतिविधि आफूहरुसँग सल्लाह नै नगरी अघि बढाइएको बताए ।
‘हामीसँग सल्लाह केहीपनि भएको छैन । बैठकका लागि भनेर हामी यहाँ आएका थियौं’–विहीबार संसद भवन परिसरमा श्रेष्ठले हामीसँग भने–‘७ गतेका लागि भनेर बैठक स्थगित गरिएको सूचना हामीले प्राप्त गर्यौं । योभन्दाबाहेक मलाई केहीपनि थाहा थिएन ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव पेस गर्ने भनिएको विहीबारको संसद बैठक स्थगित भएपछि उनको यस्तो भनाइ आएको हो ।
विहीबार दिउँसो १ बजे बोलाइएको संसद बैठकमा महाअभियोग प्रस्ताव पेस गर्ने तयारी गरिएको थियो ।
संसद सचिवालयले कार्कीविरुद्धको महाअभियोग प्रस्तावबारे छलफल गर्न दलहरुले समय मागेपछि बैठक स्थगित गरिएको जनाएको छ । अर्को बैठक आगामी आइतबार बिहान ११ बजे बस्नेछ ।
यसअघि, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका १ सय ५७ जना सांसदले हस्ताक्षर गरेर बुधबार कार्कीविरुद्ध महाअभियोग प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका थिए ।









प्रतिक्रिया दिनुहोस्