२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


बजेट अभावमा गोरखा दरबार पुनःनिर्माणमा ढिलाइ


0
Shares

गोरखा, कात्तिक ५ । भूकम्पले क्षति पुर्‍याएको गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ भएको छ । दरबारको जग तथा संरचनामा भूकम्पले क्षति पुर्‍याएकाले जगैदेखि पुनःनिर्माण गर्नुपर्ने देखिए पनि बजेटको अभाव हुँदा दरबारका मुख्य संरचना र कालिका मन्दिरको पुनःनिर्माण हुन सकेको छैन ।

‘दरबारको गारो जीर्ण भइसक्यो । छानाबाट पानी चुहिन्छ,’ गोरखा दरबार हेरचाह अड्डाका प्रमुख गणेश भट्टराईले भने, ‘तल्लो तलाभन्दा माथिल्लो तला धेरै जीर्ण छ ।’ दुईतले दरबारको अधिकांश ठाउँमा सालका काठ प्रयोग गरिएका छन् । भूकम्प गएको १८ महिना हुँदा पनि ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वको दरबार पुनःनिर्माणको काम नभएको हो ।

गोरखा दरबार छेउमा रहेको गुरु गोरखनाथको मन्दिर (गुफा) भने मर्मत गरिएको छ । भूकम्पले पूर्णरुपमा क्षति पुर्‍याएपछि गोरखनाथ मन्दिर टहरोमा सञ्चालित थियो । भूकम्प प्रतिरोधी मन्दिर बनाएपछि नियमितरुपमा पूजाआजा सुरु गरिएको भट्टराईको भनाइ छ । दरबार मर्मत गर्न पुरातत्व विभाग तथा सरकारसँग आग्रह गरेपनि बजेट अभाव हुँदै आएको भट्टराईले बताए ।

यसअघि पुरातत्व विभागले दरबारको अवस्थाबारे अध्ययन गरिसकेको छ । अध्ययन गरे पनि बजेटको व्यवस्था नगरेपछि दरबार मर्मत गर्न नसकिएको हो । दसैँका बेला दरबारको दसैँ घरमा सकसपूर्ण पूजाआजा तथा फूलपाती भित्र्याइएको भट्टराईको गुनासो छ ।

तत्कालीन राजा राम शाहले विसं १६६८ सालमा निर्माण गरेको दरबार भूकम्पपछि जीर्ण हुँदै गएको छ । दरबारमा विसं १७९९ मा पृथ्वीनारायण शाहले राज्याभिषेक गरेको इतिहास छ ।

पुरातत्व विभागले पठाएको बजेटले गोरखनाथ गुफास्थित मन्दिर, दमैपाटीलगायत संरचना मर्मत गरिएको हो । दरबारको जगैदेखि भत्काएर दुरुस्तै पुनःनिर्माण गर्न सकेमा दीर्घकालीनरुपमा दरबारका संरचना राख्न सकिने सरोकारवाला बताउँछन् । दरबार अवलोकनका लागि शैक्षिक भ्रमणमा विद्यार्थी आउने गरेका छन् ।

यस्तै, स्वदेशी तथा विदेशी पर्यटक दरबार अवलोकनका लागि बर्सेनि आउँछन् । दरबारका पुजारी प्रदीपनाथ योगीले ऐतिहासिक महत्वको गोरखा दरबार मर्मतमा सरकारले ढिलाइ गर्न नहुने बताए । भावी पुस्ताका लागि ऐतिहासिक धरोहर बचाइराख्नुपर्नेमा उनले जोड दिए ।

भूकम्पपछि देशमा भित्रिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाले विभिन्न संरचना पुनःनिर्माणमा सहयोग गर्ने बताएपनि भूकम्पले क्षति पुर्‍याएका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय सम्पदाको पुनःनिर्माणमा खासै सहयोग गरेका छैनन् । (रासस)