२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


एन्फाको चुनाव कात्तिक ८ गते नै हुने निश्चित, रोक्न नपर्ने अदालतको फैसला


0
Shares

काठमाडौं, कात्तिक ५ । अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्ष र उपाध्यक्षको चुनाव कात्तिक ८ गते नै हुने भएको छ ।

नेपाल रेफ्री संघका उपाध्यक्ष विनोद केसी र एन्फाका पूर्वमहासचिव लोकबहादुर शाहीले चुनाव रोक्न दिएको रिट निवेदनमा शुक्रबार उच्च अदालत पाटनले चुनाव रोक्न नपर्ने फैसला गरेपछि आउँदो सोमबार एन्फाको चुनाव हुने निश्चित भएको हो ।

गत असोज १४ गते परेको निवेदनमा उच्च अदालतले दुबै पक्षलाई छलफलका लागि शुक्रबार बोलाएकामा चुनाव रोक्न नपर्ने फैसला गरेको हो ।

योसँगै चुनावी सरगर्मी पनि बढ्ने देखिएको छ । उच्च अदालतले फैसला नहुन्जेल चुनावी प्रचारप्रसार नगर्न र नगराउन आदेश दिएको थियो ।

यता, एन्फा निर्वाचन समितिले उच्च अदालतले प्रचारप्रसार रोक्न आदेश दिनुपूर्व शुक्रबार (आज)सम्मको उम्मेदवारी फिर्ताको समय दिएको थियो ।

तर, दिउँसोमात्र अदालतले चुनाव रोक्न नपर्ने बताएपछि शुक्रबार नै उम्मेदवारी फिर्ता लिने समय दिन नसकिने भन्दै निर्वाचन समितिका संयोजक सजीत केसीले भोलि शनिबार भएकाले आइतबार केही क्षणका लागि अवसर दिन सकिने जानकारी दिएका छन् ।

एन्फा अध्यक्षमा कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ र उपाध्यक्ष कर्माछिरिङ शेर्पाबीच प्रतिस्पर्धा हुँदैछ ।

त्यस्तै, उपाध्यक्षका लागि तीनजनाको उम्मेदवारी परेको छ । श्रेष्ठ समूहबाट मणि कुँवर, शेर्पा समूहबाट दीपक खाती तथा पूर्वराष्ट्रिय खेलाडी उपेन्द्रमान सिंहको स्वतन्त्र उम्मेदवारी परेको छ ।