Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


बालकुमारीमा प्राकृतिक ग्यासप्लान्टको सफल परीक्षण, तीनओटा चुलो बाल्न सकिने


0
Shares

काठमाडौं, कात्तिक ५ । ललितपुरको बालकुमारीमा प्राकृतिक ग्यासप्लान्टको सफल परीक्षण गरिएको छ ।

उद्योगमन्त्री नवीन्द्रराज जोशीले शुक्रबार प्लान्टको उद्घाटन गरे । ३५ लाख लगानीमा ग्यासकुवा एवं १५ लाख लगानीमा मोबाइल ग्यासप्लान्ट तयार गरिएको हो ।

खानी तथा भू–गर्भ विभागले पुल्चोक इन्जिनियरिङ क्याम्पस, थापाथली इन्जिनियरिङ क्याम्पस तथा नास्टको समन्वयमा नेपालमै पहिलोपटक ग्यासप्लान्ट तयार पारिएको हो ।

प्लान्टबाट अहिले तीनओटा पाइपको माध्यमबाट चुलो बाल्न सकिने छ ।

३५० मिटर गहिरो कुवाबाट पम्पले तानेर पानीसँगै आउने ग्यास सेपेरेसन च्याम्बरमा छुट्याइन्छ । पछि उक्त ग्यास मोबाइलप्लान्टमार्फत् वितरण गर्न सकिने विभागले जनाएको छ ।

उक्त कुवाबाट १५ भाग पानीसँग १ भाग ग्यास आउने विभागले जनाएको छ । पहिलाको परीक्षणमा ग्यासको मात्रा बढी देखिएपनि अहिले भने ग्यासको मात्रामा कमी आएको विभागले जनाएको छ ।

जापान सहयोग नियोग (जाइका) को सहयोगमा खानी तथा भू–गर्भ विभागले सन् १९७८ मा काठमाडौंको जमिनमुनि प्राकृतिक ग्यासको अन्वेषण सुरु गरेको थियो ।

उक्त अध्ययनमा उपत्यकाका इमाडोल, तीनकुने, कोटेश्वर र त्रिपुरेश्वरसहित करिब २६ वर्गकलोमिटर क्षेत्रमा ३१ करोड घनमिटर ग्यासभन्डार रहेको पाइएको थियो ।

पछिल्लो समय ग्यास उत्खनन् परियोजनाको काम रोकिएपनि तीन वर्ष अगाडिबाट ‘ड्रिलिङ’ सुरु भएर एक वर्षअगाडि सकिएको थियो ।

विभागले अहिले व्यवसायिकरुपमा ग्यास उत्पादन गर्ने कुनै योजना नरहेको जनाएको छ ।