Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


‘महाअभियोग प्रस्तावले डेढ महिनामा पूर्णता पाउँछ’


0
Shares

                                                                          फाइल फोटो

काठमाडौं, कात्तिक ६ । नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखविरुद्ध व्यवस्थापिका–संसदमा दर्ता भएको महाअभियोग प्रस्तावका सन्दर्भमा देशमा निर्णायक महत्व राख्ने राजनीतिक दलले साझा दृष्टिकोण बनाउनुपर्ने बताएका छन् ।

एमाले बल्खु टोल कमिटीले शनिबार विभिन्न पर्वका उपलक्ष्यमा आयोजना गरेको चियापान तथा शुभकामना कार्यक्रमममा उनले सो प्रस्ताव कसले राख्यो भन्दापनि विषयमा ध्यान दिनुपर्नेमा जोड दिँदै सो विषयमा संसदमा धेरै दलका धेरै विचार आएपनि ठूला दल विमुख हुन नहुने बताए ।

उनले आइतबार संसदमा सभामुखले सो विषयमा छलफलका लागि दिन तोक्ने र छलफल तथा सिफारिस समितिमा अभियुक्तका राय लिने प्रक्रिया पूरा गर्दा करिब डेढ महिनामा प्रस्तावले पूर्णता पाउने विश्वास व्यक्त गरे ।

सांसद यज्ञराज सुनुवारले मुलुकमा कानुनी शासनलाई कायम राखी लोकतन्त्रलाई संस्थागत गर्न सबै दलका नेता जिम्मेवार रहेको बताउँदै सो प्रस्ताव दुईतिहाइ बहुमतका साथ पारित हुने विश्वास व्यक्त गरे ।

पार्टीका केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले सो विषय संवेदनशील रहेकाले सबै दल जिम्मेवार भइ निर्णय लिनुपर्नेमा जोड दिए ।

कार्यक्रम आयोजक संस्थाका अध्यक्ष धर्मशंकर घिमिरेले दसैं, तिहार, चित्रगुप्तपूजा, नेपाल संवत्, छठ, ल्होसार, उधौलीलगायत विशेष महत्वका नेपाली चाडपर्वले सामाजिक सद्भाव कायम राख्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । रासस

Skip This