
काठमाडौं, कात्तिक ६ । अखिल नेपाल फुटबल संघ (एन्फा)को सोमबार हुने अध्यक्ष र उपाध्यक्षको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन समितिले जनाएको छ ।
आइतबार मध्याह्न फुटबलको सर्वोच्च निकाय फिफा र एसियाली फुटबल महासंघका प्रतिनिधिसँग छलफल गरेपछि निर्वाचन तयारी पूरा हुने निर्वाचन समितिका संयोजक सुजितकुमार केसीले जानकारी दिए ।
एएफसीका प्रतिनिधिहरु रवि कुमार र पुरुषोत्तम कट्टेल शनिबार राति तथा फिफाका प्रतिनिधि लुक्का निकोला आइतबार बिहान काठमाडौं आउँदैछन् ।
राजधानीको माइतीघरस्थित कार्की पार्टी प्यालेसमा सोमबार बिहान ८ बजेदेखि हुने साधारणसभामा मतदान भने दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ ।
यसैबीच, उम्मेदवारी दर्ता फिर्ताको समय सकिएपनि उम्मेदवारले चाहेमा आइतबार दिउँसोको समय दिन सकिने निर्वाचन समितिले जनाएको छ ।
अध्यक्षका लागि हालका कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ र हालका उपाध्यक्ष कर्माछिरिङ शेर्पाबीच प्रतिस्पर्धा हुँदैछ ।
उपाध्यक्षका लागि मणि कुँवर, दीपक खाती र उपेन्द्रमान सिंहको उम्मेदवारी परेको छ । सबै उम्मेदवारले जित्ने दाबी गरिरहेका छन् ।
एक वर्षका लागि हुने नेतृत्वको चुनावमा ६७ प्रतिनिधिले मतदान गर्नेछन् । ६९ प्रतिनिधि भएकामा ‘बी’ डिभिजन लिगबाट मताधिकार पाएको कुमारी क्लब दुई वर्षे कारबाहीमा परेको र झापा जिल्लाबाट प्रतिनिधि चयन समयभन्दा ढिला भएकाले सहभागी नहुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्