
काठमाडौं, कात्तिक ७ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा लिरभपुलले वेष्ट ब्रोमलाई २-१ ले हराएको छ ।
आफ्नै मैदानमा भएको खेलमा लिभरपुललाई विजयी गराउन सादियो माने र फिलिप कौटिन्होले एक/एक गोल गरे ।
यसैगरी राति भएको अर्को खेलमा प्रिमियर लिग फुटबलको उपाधि दावेदार आर्सनललाई मिडिल्सब्रोले गोलरहित बराबरीमा रोकेको हो ।
जारी लिगमा अहिलेसम्म अपराजित टोली टोटनह्याम हट्सपरले बर्नमाउथसँग गोलरहित बराबरी खेलेको छ । यसैगरी स्वान्सी सिटी र वाट्फोर्डले पनि गोलरहित बराबरीमा चित्त बुझाए ।
अन्य खेलमा बर्नलेले एभर्टनलाई २-१ ले हराउँदा स्टोक सिटीले हल सिटीलाई २-० ले पराजित गर्यो ।
च्याम्पियन लेष्टर सिटीले क्रिष्टल प्यालेसलाई ३-१ ले हराउँदा वेष्ट ह्याम युनाईटेडले सण्डरल्याण्डलाई १-० ले पराजित गर्यो ।
रातिका खेलपछि प्रिमियर लिगको अंक तालिकामा ९ खेलबाट २० अंक जोडेको आर्सनल शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट २० अंक नै जोडेको लिभरपुल गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ ।
प्रिमियर लिग फुटबलमा आज राति दुई खेल हनुेछन् । आज दावेदारहरु चेल्सी र म्यान्चेस्टर युनाईटेड आमने सामने हुँदा म्यान्चेस्टर सिटीले साउथह्याम्पटनसँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्