२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


जैविक हतियारमा प्रतिबन्ध सम्बन्धी महासन्धि संसदद्वारा अनुमोदन


0
Shares

काठमाडौं, कात्तिक ७ । व्यवस्थापिका– संसद्ले जीवाणु (जैविक) तथा विषाक्त हतियारको विकास, उत्पादन र भण्डारणमा प्रतिबन्ध लगाउने तथा तिनलाई नष्ट गर्नेसम्बन्धी महासन्धिलाई बहुमतले अनुमोदन गरेको छ ।

यसअघि परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले उक्त महासन्धिलाई पारित गरियोस् भनी सदन समक्ष प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त प्रस्तावमाथिको छलफलमा रामनारायण बिंडारी, गणेशमान गुरुङ, रामहरि सुवेदी र अनुराधा थापा मगरले भाग लिएका थिए ।

उनीहरुले मानव सभ्यताकै विरुद्धमा रहेका जीवाणुजन्य तथा विषाक्त हातहतियारको रोकथाम गर्न सरकारले अन्तर्राष्ट्रियमञ्चमा स्पष्ट धारणा राख्नुपर्ने आवश्यकता औँल्याए ।

सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री डा महतले जीवाणुजन्य तथा विषाक्त हतियारको दुरुपयोग नहोस् र यसको प्रयोग घटाउँदै लैजानुपर्छ भनेर सरकारले महासन्धि अनुमोदनलाई अघि बढाएको जिकिर गरे ।

उनले भने, ‘जसले पनि यसको दुरुपयोग गर्नसक्ने सम्भावना रहन्छ, विश्व समुदायले नै यसको प्रयोग विरुद्ध एक स्वरले उभिनुपर्छ ।’ (रासस)