
काठमाडौं, चैत १८ । नेपाल बार एसोसिएसनको शनिबार सम्पन्न मतदानको मतगणना सोमबारदेखि सुरु भएको छ ।
उपत्यकाबाहिरका बुथबाट मतपत्र काठमाडौं ल्याइएपछि मतगणना सुरु गरिएको हो ।
मतगणनाको अन्तिम नतिजा बुधबारसम्म आइसक्ने निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता डा. सुष्मा बाँस्कोटा बरालले बताइन् ।
निर्वाचनमा करिब ८० प्रतिशत मत खसेको छ ।
मुलुकभर ३५ ओटा इकाइबाट ८ हजार ३२९ जनाले मतदान गरेको बार निर्वाचनमा २५ सदस्यीय कार्यसमितिका लागि ६३ जनाको उम्मेदवारी परेको छ ।
तीन वर्षका लागि हुने कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक/एक गरी ८ उपाध्यक्ष निर्वाचित हुनेछन् ।
अध्यक्ष पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । सत्तारुढ दल नेकपानिकट प्रगतिशील, पेसागत तथा समावेशी कानुन व्यवसायी र प्रमुख प्रतिपक्षी नेपाली कांगे्रसनिकट बृहत् लोकतान्त्रिक समूहका प्यानलसहित निर्वाचनमा होमिएका छन् ।
प्रगतिशील प्यानलमा जनजाति तथा मधेसी फोरमनिकट समूहसमेत छन् ।
अध्यक्षका लागि प्रगतिशीलले वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठलाई अघि सारेको छ भने लोकतान्त्रिकले बारका वर्तमान महासचिव सुनिलकुमार पोखरेललाई उम्मेदवार बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्