फाइल फोटो
धनुषा, कात्तिक ९ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले छठसम्म सहमतिअनुसार संविधान संशोधन विधेयक नआए आन्दोलनमा जाने बताएका छन् ।
मंगलबार संघीय प्रेस फोरम धनुषाद्वारा जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले वर्तमान सरकार निर्माणको बेलामा भएको तीनबुँदे सहमतिअनुसार सरकारले आफूले गरेको प्रतिबद्धता पूरा हुने गरी संशोधन विधेयक नआएको उल्लेख गरे ।
उनले संविधान संशोधन नभए मधेसी, आदिवासी जनजाति, थारु, मुस्लिम, दलित र महिलालगायत उत्पीडनमा परेकाले ठूलो विद्रोह गर्ने अवस्था रहेकाले सत्तारुढ दललाई समयमै सचेत हुन आग्रह गरे ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रकरणबारे पत्रकारले राखेको जिज्ञासामा अध्यक्ष यादवले लोकमानमाथि लगाइएको महाअभियोगका कारण अझै अस्पस्ट रहेको र दर्ता गराउने दलले त्यस विषयमा आफूहरुसँग कुनै छलफल नगरेकाले आफ्नो चासोको विषय नरहेको स्पस्ट पारे ।
उनले ‘महाअभियोग लगाउनेले नै कार्कीलाई नियुक्ति गरेका हुन्, आखिर अहिले महाअभियोग किन लगाउनुपर्यो ? त्यो कुरा स्पष्ट हुनुपर्यो’ भन्दै महाअभियोगलाई बहाना बनाएर संविधान संशोधन प्रक्रियामा बाधक बनाउने कुरा उचित नभएको धारणा राखे ।
अध्यक्ष यादवले स्वायत् शासन प्रादेशिक संरचनासहितको स्रोत–साधनमा समानुपातिक समावेशी ढंगबाट सहभागिता हुनेलगायतका संविधानमा भएको विभेद् अन्त्य नभएसम्म आफूहरुलाई यो संविधान कुनैपनि हालतमा मान्य नहुने र आफूहरु अधिकारका लागि लडिरहने जनाए । रासस









प्रतिक्रिया दिनुहोस्