२१ श्रावण २०८२, बुधबार | Thu Aug 7 2025


निर्वाचनकाबेला गरेको बाचा भुलेको छैन : प्रधानमन्त्री


0
Shares

काठमाडौं, कात्तिक ९ । प्रधानमन्त्री पुष्पकमल दाहालले सिरहाको विकास–निर्माणका लागि सरकारको तर्फबाट सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जिल्लाका विकास–निर्माण र जनचासोका विषयलाई लिएर मंगलबार आएको सिरहाको सर्वदलीय एवं सर्वपक्षीय प्रतिनिधिमन्डलसँगको भेटमा प्रधानमन्त्रीले आफूले निर्वाचनकाबेला सिरहामा गरेको बाचा नभुलेको भन्दै ती पूरा गर्ने बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

सिरहामा कृषि क्याम्पस, मेडिकल कलेज, सडक, खानेपानीलगायतका विषयलाई आफूले प्राथमिकतामा राखेर काम गर्ने सो अवसरमा प्रधानमन्त्रीले बताए ।

सिरहा जिल्लाका जनतालाई सम्बोधन गर्न आफू छिट्टै सिरहा आउने प्रतिनिधिमन्डललाई प्रधानमन्त्रीले जानकारी दिए ।

भेटमा प्रधानमन्त्रीले भने–‘म प्रधानमन्त्री भएपछि उपत्यकाबाहिरको पहिलो कार्यक्रम सिरहामा नै बनाएको थिएँ । तर, मौसमका कारण जान सकिनँ, मलाई पनि निकै नमीठो लागेको छ । अब समय लिएर छिट्टै सिरहाका जनता भेट्न आउनेछु ।’

सिरहाको प्रतिनिधिमन्डलले विकासका दृष्टिले सिरहा पछाडि परेको भन्दै नदी नियन्त्रण, सर्पदंशको उपचारका लागि अत्याधुनिक अस्पताल, बाल अस्पताल, सडक निर्माण र मर्मत, हुलाकी राजमार्गलगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

प्रधानमन्त्री दाहाल सिरहाको क्षेत्र नम्बर–५ बाट गत संविधानसभा निर्वाचनमा निर्वाचित भएका हुन् । रासस