फाइल फोटो
धनगढी, कात्तिक ९ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले टीकापुर घटनाको निष्पक्ष छानबिन गरी दोषीलार्ई कारबाही गर्नुपर्ने बताएका छन् ।
मंगलबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले घटनाको नाममा मुद्दा लगाएर फसाइएका कयौं निर्दोषलाई रिहाइ गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष गच्छदारले भने–‘टीकापुर घटनाका नाममा राज्यले कयौं निर्दोष थारूलाई फसाएको छ, घटनापछि कयौं थारू विस्थापित भएका र कयौंको सम्पत्तिमा क्षति पुगेको छ ।’
सीमांकनमा हेरफेर नगरी देशको समस्या समाधान हुन नसक्ने बताउँदै उनले ८ प्रदेश उपयुक्त विकल्प रहेको दाबी गरे ।
पूर्वमा झापा, सुनसरी मोरङ र पश्चिममा कैलाली–कन्चनपुरका विषयमा नयाँखाले सहमति गरी अविलम्ब संवैधानिक प्रक्रिया अगाडि लैजानुपर्नेमा अध्यक्ष गच्छदारले जोड दिए ।
उनले ठूला दलले आफूसँग कुनै सर–सल्लाह नगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमाथिको महाअभियोग लगाएकाले यसमा आफूले कुनै टिप्पणी नगर्ने बताए । रासस









प्रतिक्रिया दिनुहोस्