
काठमाडौं, चैत १८ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ बारा र पर्सालगायत जिल्लामा भीषण हावाहुरीका कारण ठूलो मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दैैै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेकी छन् ।
राष्ट्रपति भण्डारीले सोमबार वक्तव्यमार्फत् सो प्राकृतिक विपत्तिमा परी ठूलो संख्यामा जनसमुदाय घाइते भएकामा सहानुभूति प्रकट गर्दै घाइतेको यथाशीघ्र उपचारको प्रबन्ध मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी छन् ।
हावाहुरी, बाढी-पहिरो, डढेलो, आगलागीजस्ता प्राकृतिक प्रकोपबाट जोगिन र जोगाउन सम्बद्ध सबै पक्षलाई समयमा नै पूर्वसावधानी अपनाउनसमेत राष्ट्रपतिले ध्यानाकर्षण गराएकी छन् ।
उनले भौतिक पूर्वाधार विकास गर्दा जोखिम न्यूनीकरणका सबल उपाय अवलम्बन गर्न सरोकार भएका सबै पक्ष सचेत रहनुपर्नेमा जोड दिएकी छन् ।
राष्ट्रपतिले मुलुकका विभिन्न भागमा भएका सडक दुर्घटनामा परी जीवन गुमाउनेका परिवारप्रति पनि समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् ।
एकार्कालाई सहयोग गर्न उपराष्ट्रपतिबाट आग्रह
उपराष्ट्रपति नन्दबहादुर पुनले हावाहुरी र असिनापानीले राष्ट्रलाई नै शोकमा पार्नेगरी मध्य तराईका बारा, पर्सालगायत जिल्लामा भएको ठूलो मानवीय र भौतिक क्षतिले मर्माहत र दुःखित बनाएको बताएका छन् ।
उनले अकल्पनीय प्रकारको प्राकृतिक प्रकोपमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।
उपराष्ट्रपतिले प्राकृतिक प्रकोपमा परी घाइते भएकाको शीघ्र पूर्ण स्वाथ्यलाभको कामना गर्दै प्रभावकारी उपचारका लागि सरकार र सबै पक्षको ध्यानाकर्षण गराएका छन् ।
घाइतेको उद्धार र उपचार तथा पीडितका लागि राहत, पुनःस्थापना र घर पुनःनिर्माणमा सरकारले विशेष ध्यान दिनेमा विश्वस्त रहेको बताउँदै उपराष्ट्रपतिले सुरक्षित आवास र भौतिक पूर्वाधार नहुँदा धेरै जनधनको क्षति भएको देखिएकाले त्यसलाई विशेष ध्यानमा राख्न संघीय, प्रदेश र स्थानीय सरकारलाई अनुरोधसमेत गरेका छन् ।
एकलाई दुःख पर्दा अर्कोले सहयोग गर्ने हामी नेपालीको संस्कार भएको स्पस्ट पार्दै उनले हावाहुरीबाट पीडितलाई स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइले सकेको सहयोग गर्ने अपेक्षा गरेका छन् ।
अकल्पनीय प्राकृतिक प्रकोप पीडितको पीडामा आफू सधैं साथमा नै रहेको बताउँदै उनले विपद्का समयमा खुला हृदयका साथ सहयोग गर्न सबैमा आग्रह गरेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्