फाइल फोटो
उदयपुर, कात्तिक १० । भौतिक पूर्वाधार र यातायातमन्त्री रमेश लेखकले संविधान संशोधन र कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
नेपाल प्रेस युनियन उदयपुरले बुधबार गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने–‘मधेसी तथा जनजातिको जायज माग पूरा गर्नका लागि सरकारले संविधान संशोधन गर्ने गृहकार्यमा लागेको र अब केही हप्तामा नै यो कार्य पूरा हुनेछ ।’
मन्त्री लेखकले सरकारको मुख्य प्राथमिकता भनेको नै संविधान संशोधन गरी यसलाई सर्वस्वीकार्य बनाउने बताउँदै ‘संविधान कार्यन्वयनका लागि तीन तहको निर्वाचन गराउनेतर्फ सरकार पूर्णप्रतिबद्धताका साथ कार्य गरिरहेको छ’–भने ।
संविधान संशोधनका लागि प्रमुख तीन दल र साना दलसमेतको सहभागितामा पटक–पटक छलफल भएको र सबैको सहमतिमा नै यो कार्य पूरा हुने विश्वास पनि उनले व्यक्त गरे ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री लेखकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका–संसदमा दर्ता भएको महाभियोगका विषयमा कांग्रेसले आवश्यक प्रक्रिया पुर्याएरमात्र निर्णय गर्ने बताउँदै यो प्रकरणमा दलभन्दा पनि जनमत र संसदमा सांसदको बहुमत धारणा बुझेरमात्र कांग्रेस छिट्टै निर्णयमा पुग्ने विचार व्यक्त गरे । रासस









प्रतिक्रिया दिनुहोस्