२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


सल्यानमा १० ओटा स्थानीय तहको संरचना सिफारिस, यस्तो छ खाका


0
Shares

सल्यान, कात्तिक १० । स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति सल्यानले जिल्लामा १० ओटा स्थानीय तहको संरचना हुने निर्णय गरेको छ ।

सल्यानका स्थानीय विकास अधिकारी एवं प्राविधिक सहयोग समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा सल्यानमा बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको हो ।

बैठकले वनगाड कुपिन्डे नयाँ नगरपालिका थप गरी तीन नगरपालिका र सात गाउँपालिकासहित स्थानीय निकाय पुनर्संरचना आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।

जिल्लाको काप्रेचौर, कालीमाटी काल्चे, कालीमाटी रामपुर र लक्ष्मीपुर गाविसलाई जोडेर कालीमाटी गाउँपालिका सिफारिस गरेको छ भने काभ्रा, फलाबाङ, काराँगिठी र त्रिवेणी गाविसलाई मिलाएर त्रिवेणी गाउँपालिका तथा धाबाङ, सारपानी गर्पा, रिम, सिनवाङ गाविसलाई मिलाएर कपुरकोट गाउँपालिका तथा दमाचौर, लेखपोखरा, कोर्बाङ झिम्पे र छायाँक्षेत्र गाविसलाई मिलाएर छत्रेश्वरी गाउँपालिकाका हुने गरी आयोगमा सिफारिस गरिएको संयोजक पौडेलले बताए ।

उनका अनुसार शारदा नगरपालिका–७ कजेरी सिद्धेश्वरी, चाँदेकरेञ्जी, बाँझकाँडा गाविसलाई मिलाएर ढोरचौर गाउँपालिका तथा भल्चौर, दार्माकोट, ढाकाडाम गाविसलाई मिलाएर दार्मा गाउँपालिका हुने सिफारिस गरिएको छ ।

त्यस्तै, देवस्थल, बामे, मूलखोला, घाजरी पिपल गाविसलाई मिलाएर वनगाड कुपिन्डे नगरपालिका, जिमाली, मर्मपरिकाँडा, स्वीकोट, कालागाउँ र वनगाड गाविसलाई मिलाएर कुमाखमालिका नगरपालिका तथा बाँफूखोला गाविसलाई बागचौर नगरपालिकामा मिलाएर बागचौर नगरपालिकाको लागि सिफारिस गरेको समितिका संयोजक पौडेलले बताए ।

समितिले बुधबारदेखि जिल्लामा रहेका गाउँपालिका तथा नगरपालिकामा वडा विभाजन तथा जनमत संकलन अभियान सुरु गर्ने भएको छ ।

जिल्लामा सम्पन्न सर्वदलीय बैठकले कात्तिक १० गते ढोरचौर र रागेचौर तथा कात्तिक ११ गते देवस्थल, लेखपोखरा, लुहाम, कपुरकोट र भल्चौरमा पुगेर त्यहाँका स्थानीयबासीको राय–सुझावसहितको जनमत संकलन गरिने बताइएको छ । रासस