२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


शिक्षा, स्वास्थ्य, रोजगारीबारे सरकारले विशेष अभियान सन्चालन गर्ने : प्रधानमन्त्री


0
Shares

काठमाडौं, कात्तिक १० । प्रधानमन्त्री पुष्पकमल दाहालले वास्तविक गरिबलाई लक्षित गरेर सरकारले शिक्षा, स्वास्थ्य, रोजगारी र सीपमूलक कामबारे विशेष अभियान नै सन्चालन गर्ने बताएका छन् ।

नेकपा माओवादी केन्द्र पर्वत जिल्लाको प्रतिनिधिमन्डलसँग बुधबार भएको भेटका क्रममा प्रधानमन्त्री दाहालले दुर्गम जिल्लाका पनि अन्त्यन्त गरिबको लागि रोजगारमूलक कामको सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे ।

विकासको दृष्टिले पछाडि परेको पर्वत जिल्लाको विकास र विविध स्थानीय समस्यालाई समाधान गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री दाहालको भनाइ छ ।

प्रधानमन्त्रीले सरकार निर्वाचनमार्फत् देशमा संविधान कार्यान्वयन गर्ने गृहकार्यमा लागिरहेको जानकारी दिए ।

सरकार संविधान संशोधनको अन्तिम तयारी रहेको जानकारी गराउँदै प्रधानमन्त्री दाहालले संविधानको कार्यान्वयनसँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनेमा जोड दिए ।

‘संविधान संशोधनबारे छलफल भइरहेको छ, राजनीतिक समझदारीको आधारमा संशोधनपछि सरकारले स्थानीय निकायको चुनावको मिति घोषणा गर्नेछ’–प्रधानमन्त्री दाहालले भने ।

भेटमा माओवादी केन्द्र पर्वतका नेताद्वय नेत्रनाथ अधिकारी र कृष्ण पराजुलीले सहिद परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे ।

त्यसैगरी, हुम्ला जिल्लाका प्रतिनिधिसँग बुधबारै भएको भेटका क्रममा प्रधानमन्त्री दाहालले ‘मुलुकको अन्त्यन्त विकट क्षेत्र कर्णालीको विकासकोनिम्ति सरकार प्रतिबद्ध छ’–भने ।

सोही अवसरमा पूर्वसांसद कर्णजीत बुढाथोकीले अन्य जिल्लाभन्दा हुम्लालाई प्राथमिकतामा राखेर अगाडि बढ्न आग्रह गरे । रासस