
काठमाडौं, कात्तिक १० । दुई हजार वर्षदेखि प्रचलनमा रहेको परम्परागत ‘दाफा’को महोत्सव हुने भएको छ ।
६ महिनासम्म चल्ने महोत्सवको उद्घाटन कात्तिक १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुनेछ ।
महोत्सव प्रत्येक हप्ता शुक्रबार र शनिबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म लगनखेलस्थित ललितपुरमलमा हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
नेवार संस्कृतिमा बस्तीहरुमा खिंबाजा, ताः र बबुचा अर्थात झ्यालिंचाको तालमा क्वाय्र (पालैपालो) गाउने परम्परा नै दाफा हो ।
यही चलनअनुसार दाफा शिक्षण, अभ्यास र प्रस्तुति निरन्तर चलिआएको परम्परा हो ।
२०७२ वैशाख १२ कोे विनाशकारी भूकम्पबाट दाफा गाउने/बजाउने कयौं पार्टीपौवा जीर्ण भएको र भत्किएका कारण दाफा परम्परा प्रभावित भएको छ ।
प्राचीन महत्वपूर्ण परम्परा जगेर्ना, विस्तार र युवापुस्तालाईसमेत आकर्षित गरी परम्परा हस्तान्तरण गर्ने उद्देश्यले यो महोत्सवको आयोजना गरिएको छ ।
महोत्सवमा मूलरुपमा दाफा विधा रहनेछ भने सहयोगी विधाकारुपमा मुकुन्डो नाच, लाखे नाच, कवं नाच, धिमे नाच र वादनमा बासुरी, नगरा, दबदब, प्वंगा, बय्, तिनकुने, शंखलगायतका अरु बाजाको प्रस्तुतिसमेत रहनेछ ।
तर, महोत्सवमा सहभागी समूहले भने थप बाजाकारुपमा तीनथरिका बाजासम्म बजाउन सकिने नियम रहेको छ ।
महोत्सवको उद्घाटन समारोहमा १०० भन्दा बढी कलाकारहरुले नेपालमण्डल अर्केष्ट्रा प्रस्तुत् गर्नेछन् । समापन समारोहमा पनि विशेष अर्केष्ट्रा प्रस्तुत् हुने जानकारी गराइएको छ ।
महोत्सव अवधिभर भने स–सानो समूहमा विभिन्न अर्केष्ट्रा प्रस्तुत् गरिनेछ । अर्केष्ट्राको निर्देशन वरिष्ठ वाद्यवादक न्हच्छेबहानदुर डंगोल र धर्म मुनिकारले गरेका छन् ।
ललितपुर मलको प्रायोजनमा नेपालमण्डल टेलिभिजनले गर्न लागेको यो महोत्सवको महत्वबारे जानकारी गराउँदै निर्देशन समितिका अध्यक्ष संस्कृतिविद् डा. सत्यमोहन जोशीले नेपालमा हाल तीनओटा प्रतिष्ठान हुँदा पनि लोकबाजा एवं परम्परा संरक्षणमा उल्लेखनीय काम हुन नसकेको भन्दै जनस्तरबाट यो महोत्सव आयोजना गरिएको जानकारी गराए ।
निर्देशन समितिका उपाध्यक्ष नेपाल डंगोलले दाफा महोत्सवमा सहभागी २०० भन्दा बढी समूहमध्ये काठमाडौं उपत्यकाभित्रका समूहलाई परम्परागतरुपमा केपु अर्थात् सम्मानस्वरुप चामल र त्यसमा १००० रुपैयाँ तथा उपत्यकाबाहिरका समूहलाई २००० रुपैयाँ सघाउने जानकारी गराए ।
दाफा परम्पराअन्तर्गत् बजाइने विभिन्न ताल, गायन र शैलीकाबारेमा लोकसंगीतकर्मी प्राज्ञ रामकृष्ण दुवालले जानकारी गराएको उक्त कार्यक्रम श्रीकृष्ण महर्जनले सन्चालन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्