२३ श्रावण २०८२, शुक्रबार | Sat Aug 9 2025


बारा र पर्सामा विपत् : घाइते सात जनालाई काठमाडौं ल्याइयो


0
Shares

काठमाडौं, चैत १८ । गएराति बारा र पर्सामा भीषण हावाहुरीका कारण घाइते भएकामध्ये सात जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

प्रहरीका अनुसार गम्भीर अवस्थामा रहेका सात जनालाई सोमबार बिहान सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो । उनीहरुलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको जनाइएको छ ।

प्रहरीका अनुसार बारामा २६ र पर्सामा एक गरी हालसम्म २७ जनाको मृत्यु भएको छ । मृतकमध्ये २३ जनाको सनाखत भइसकेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा १३ जना महिला, १० जना पुरुष, २ बालिका र १ बालक रहेका छन् । 

पर्सा जिल्लाको वीरगञ्ज उपमहानगरपालिका–१२ गण्डकस्थित त्रिशक्ति सिमेन्ट कारखाना अगाडि बिजुलीको पोल ढलेर हेटौंडाबाट बीरगञ्ज जाँदै गरेको ना६ख ९३६० नम्बरको बसमा खस्दा ६ यात्री घाइते भएका छन् । घाइतेमध्ये बीरगञ्ज–१८ बस्ने १८ वर्षीय सरोज रामको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

हाल नारायणी उपक्षेत्रीय अस्पताल बीरगञ्जमा ११६, एनएमसी अस्पतालमा १००, बीरगञ्ज हेल्थ केयरमा ३८, गण्डक अस्पतालमा २८ गरी दुई सय ८२ जनाको उपचार भइरहेको जनाइएको छ ।