२१ श्रावण २०८२, बुधबार | Thu Aug 7 2025


धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गरेको नमूना बस्ती हस्तान्तरण


0
Shares

सिन्धुपाल्चोक, कात्तिक १२ । धुर्मुस–सुन्तली फाउन्डेसनले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–८ स्थित गिरानचौरमा बनाएको एकीकृत नमूना बस्ती शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले समुदायलाई हस्तान्तरण गरेकी छन् ।

राष्ट्रपति भण्डारीले ६५ भवन, पाँच बालउद्यान र एउटा सामुदायिक भवन सहितको एकीकृत नमुना बस्ती व्यवस्थापन समितिका प्रमुख रामबहादुर तामाङलाई हस्तान्तरण गरेकी हुन् । धुर्मुुस–सुन्तलीले अनुकरणीय काम गरेको भन्दै राष्ट्रपति भण्डारीले यसबाट सरकारलाई चुनौति थपिएको बताइन् ।

नमुना बस्ती पाँच करोड १४ लाख ४९ हजार १ सय ८७ को लागतमा निर्माण भएको कलाकार सीताराम कट्टेल (धुर्मुस)ले जानकारी दिए । ती भवन ३५ रोपनी जग्गामा निर्माण गरिएको छ ।

गिरानचौर बस्ती निर्माणका लागि स्वदेश तथा विदेशबाट ६ करोड १७ लाख रकम संकलन भएको कलाकार कट्टेलले बताए । बस्ती हस्तान्तरण कार्यक्रममा भाग लिन मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यसमेत सिन्धुपाल्चोक पुगेका थिए ।

स्वच्छ र हरियाली शहरको अवधारणासहित अपाङ्गमैत्री, बालमैत्री र वातावरणमैत्री भूकम्प प्रतिरोधात्मक भवन निर्माण गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, गिरानचौर एकीकृत नमूना बस्ती तथा पर्यटन प्रवर्द्धन परियोजनाअन्तर्गत मेलम्ची नगरपालिका र भवन विभागसँग समन्वय गरी ती भवन निर्माण गरिएका हुन् ।

आर्थिक अवस्था कमजोर भएका तामाङ सामुदायलाई प्रत्यक्ष रुपमा फाइदा पुग्ने गरी ६५ घरधुरीका एक–एक तथा दैनिक ज्यालादारीमा काम गर्ने ३१ र विभिन्न संघ संस्थाबाट गरी एक सय जनाको दैनिक श्रमबाट बस्ती निर्माण सम्पन्न गरिएको हो ।

हेलम्बु राजमार्गअन्तर्गतको सिन्धुखोलाबाट करिब ६ किलोमिटर उकालो लागेपछि उक्त बस्तीमा पुग्न सकिन्छ । सो बस्तीमा खानेपानीको व्यवस्थाका लागि सिन्धुखोलाबाट पानी ल्याउने प्रबन्धसमेत मिलाइएको गिरानचौर एकीकृत नमुना बस्ती तथा पर्यटन प्रवर्द्धन परियोजनाले जनाएको छ ।