Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


सरकारलाई अन्तिम अवसर : यादव


0
Shares

                                                                             फाइल फोटो

काठमाडौं, कात्तिक १२ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गरी सरकारले मुलुकको राष्ट्रिय समस्या समाधान गर्ने अन्तिम अवसर भएको बताएका छन् ।

रिपोर्टर्स क्लबको साक्षात्कारमा संघीय गठबन्धनका संयोजकसमेत रहेका यादवले आफ्ना माग सम्बोधनका लागि प्रधानमन्त्रीले छठसम्मको समयावधि दिएकाले त्यतिबेलासम्म संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिइने चेतावनी दिए ।

उनले भने–‘हामीले सरकारलाई अल्टिमेटम दिएका छैनौं, प्रधानमन्त्री स्वयंले नै संविधान संशोधनको लागि म्याद तोक्नुभा’छ, तर छठसम्म पनि उहाँले गर्नुभएन भने हामी गठबन्धनको बैठक बसेर यसबारे निर्णय गर्छौं ।’

अध्यक्ष यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीबारे राजनीतिक दल अनायासै आतंकित भइरहेको र यसबारे सत्यतथ्य नबुझी गठबन्धनले निर्णय नगर्ने बताए ।

‘अख्तियार प्रमुख कार्कीविरुद्ध महाभियोगको प्रस्ताव किन र के उद्देश्यका लागि ल्याइएको भन्ने कुरामा हामीहरु अहिलेसम्म नै अनभिज्ञ छौं, सत्य र तथ्य हेरिसकेपछि निर्णयमा पुग्छौं, अहिले पक्ष वा विपक्ष कतैपट्टि पनि छैनौं’–उनले भने ।

अध्यक्ष यादवले महाभियोगको प्रस्ताव ल्याएर संविधान संशोधनको काम ओझेलमा पार्ने काम भइरहेको आरोप पनि लगाए । रासस

Skip This