फाइल फोटो
काठमाडौं, कात्तिक १३ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधान संशोधन गर्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्ने बताएका छन् ।
एमाले काठमाडौं–४ नम्बर वडा कमिटीले शनिबार राजधानीमा आयोजना गरेको चियापान कार्याक्रममा उनले संविधानमा शासकीयस्वरुप र निर्वाचन प्रणालीमा संशोधन गर्नुपर्नेमा जोड दिएका छन् ।
सरकार बदल्ने र भत्काउने फोहोरी खेल बढेकाले अब मुलुक बनाउन प्रत्यक्ष कार्यकारीका लागि एमालेले पहल गर्ने उनको कथन छ ।
महासचिव पोखरेलले भने–‘संविधान जसरी पनि जारी गर्नुपर्ने भएकाले हामीले अहिलेको शासकीयस्वरुप र निर्वाचन प्रणालीमा सहमति गर्न बाध्य भएका थियौं । एमालेले सरकार छाडेपछि मोर्चा बदलिएको छ तर राष्ट्र निर्माणको मिसन बदलिएको छैन ।’
उनले सामाजिक सद्भाव र मेलमिलापलाई भड्काउने विभिन्न प्रयास गरिएपनि मुलुकका राष्ट्रिय भावना समृद्ध बनाउने काम भएको र चाडपर्वले त्यस भावनालाई अझ मजबुत् बनाएको विचार व्यक्त गरे ।
कार्यक्रममा कमिटीका अध्यक्ष धु्रवराज त्रिपाठीले मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता कायम गर्न एमालेले भूमिका खेल्नुपर्ने बताए । रासस









प्रतिक्रिया दिनुहोस्