Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


भारतीय राष्ट्रपतिको पोखराको पर्यटकीयस्थल अवलोकन कार्यक्रम स्थगित


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, कात्तिक १३ । भारतका राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणबारेको सुरक्षा व्यवस्था बुझ्न उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिसहितको २२ सदस्यीय टोली शनिबार पोखरा आएको छ ।

टोलीले पोखराको शान्ति–सुरक्षा र भ्रमणको तयारीबारेमा जानकारी लिएको छ ।

टोलीमा स्थानीय विकासमन्त्री हितराज पाण्डे, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही, गृहसचिव लोकदर्शन रेग्मीलगायत सुरक्षा निकायका प्रमुखहरुको सहभागिता थियो ।

सोक्रममा राष्ट्रपति मुखर्जीले पोखराका विभिन्न पर्यटकीयस्थलको अवलोकन गर्ने कार्यक्रम भने उनको स्वास्थ्य र समय अभावका कारण स्थगित भएको गृहमन्त्री निधिले जानकारी दिए ।

तर, टोलीलाई सुरक्षा ‘ब्रिफिङ’काक्रममा सुरक्षा कारण देखाउँदै मुखर्जीलाई पर्यटकीयस्थलहरुको भ्रमण गराउन नसकिने बताइएको विशेष स्रोतले जनायो ।

टोलीलाई यस क्षेत्रको सुरक्षा अवस्थाबारे पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालले जानकारी दिएका थिए ।

यसअघि, भारतीय राष्ट्रपति मुखर्जी फेवातालको बीचमा रहेको तालबाराही र पोखराको विन्ध्यबासिनी मन्दिरमा पनि जाने बताइएकोमा अहिले ती स्थानको अवलोकन भने स्थगित भएको हो ।

गृहमन्त्री निधिसहितको टोली तयारीबारे बुझ्न पाँचतारे होटल ‘ग्रान्ड’, भारतीय पेन्सन क्याम्प, रामबजार पुगेको बरालले बताए ।

यसैबीच, गृहमन्त्री निधिले पोखरा आफैंमा सुन्दर सहर रहेको भन्दै भारतीय राष्ट्रपति मुखर्जीलाई पोखरेलीले हृदयदेखि नै स्वागत् तथा सम्मान गर्ने कार्यक्रम रहेको बताए ।

राष्ट्रपति मुखर्जीको पोखरा भ्रमणलाई सफल बनाउन पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक खगराज बरालको संयोजकत्वमा गठित मूल व्यवस्थापन सहयोग समिति र त्यसअन्तर्गत् गठित स्वागतद्वार निर्माण तथा सरसफाइ, स्वागत् व्यवस्थापन, निर्माण र पूर्वाधार तथा प्रचार–प्रसार समितिले यतिखेर आफ्नो तयारीलाई तीव्रता दिएका छन् ।

मुखर्जीको कात्तिक १७ देखि १९ गतेसम्म हुने नेपालको राजकीय भ्रमणको सिलसिलामा कात्तिक १९ गते पोखरा आउने भएपछि यहाँ त्यसको तयारी तीव्र पारिएको छ ।

राष्ट्रपति मुखर्जी काठमाडौंबाट जनकपुर हुँदै बुद्ध एअरको विमानमार्फत् कात्तिक १९ गते १२ः४५ बजे पोखरा विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जानकारी दिए ।

उनी विमानस्थलबाट सिधै पोखरा ग्रान्ड होटलमा जाने र केही समय आराम गरेपछि अपराह्न ४.०० बजे पोखराको रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा जम्मा भएका भारतीय भूतपूर्व सैनिकको भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

भूतपूर्व सैनिकको भेलालाई सम्बोधनपछि राष्ट्रपति मुखर्जी पोखरा विमानस्थलबाट काठमाडौं फर्कने कार्यक्रम छ ।

उनको भ्रमणको सिलसिलामा पोखराको सुरक्षा व्यवस्था कडा बनाइएको छ । यसको जिम्मा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले लिएका छन्् ।

राष्ट्रपति मुखर्जीको स्वागत्का लागि होटल ग्रान्डदेखि रामबजारस्थित भारतीय पेन्सन क्याम्पसम्म स्वागत्द्वार बनाइनेछ भने उनी सवार गर्ने बाटोमा नेपाल र भारतका झन्डा फहराइनेछ ।

त्यस्तै, नेपाली मौलिकपनमा आधारित सांस्कृतिक झाँकी, बाजागाजा एवं अभिवादनबाट श्रद्धा र स्वागत् गरिनेछ ।