Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


संविधान संशोधन गरेर समाधान खोज्नुपर्छ : शशांक


0
Shares

                                                                         फाइल फोटो

सुनसरी, कात्तिक १३ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले संविधान संशोधन गरेर अहिलेका सबै समस्याको समाधान खोज्नुपर्ने बताएका छन् ।

सुनसरी सदरमुकाम इनरुवामा नेपाली कांग्रेसले शनिबार आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन आइपुगेकाबेला प्रेस युनियन सुनसरीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

महामन्त्री कोइरालाले मधेसको माग सम्बोधन नगरी संविधान कार्यान्वयनमासमेत चुनौती रहेकाले सबै दल मिलेर संविधान संशोधन गरेर अगाडि बढनुको विकल्प नरहेको बताए ।

उनले प्रमुख तीन दल मिलेमात्रै दुईतिहाइ पुग्ने भएकाले सबैको स्वीकार्य हुनेगरी संविधान संशोधन गर्नुपर्ने तर्क गरे ।

उनले संविधानलाई सबैको अपनत्व हुनेगरी संशोधन नगरे संविधान कार्यान्वयन जटिल हुने र भएको उपलब्धिसमेत गुम्ने खतरा रहेको औंल्याए ।

नेता कोइरालाले प्रान्तीय संख्या बढाएर वा अहिलेकै सात प्रदेशलाई कायम राखी सीमांकन हेरफेर गर्नुपर्ने औंल्याए ।

उनले वि.सं. २०७४ भित्र तीनओटै निर्वाचन गर्न सम्भव रहेको दाबी गर्दै यसका लागि राजनीतिक इमान्दारिता र इच्छा शक्तिको आवश्यकता रहेको उल्लेख गरे ।

संविधान संशोधनको कुरा ठूला तथा विकसित मुलुकलेसमेत गरेको चर्चा गर्दै नेपालको संविधान पनि संशोधन गर्न सकिने उल्लेख गरे ।

त्यसका लागि नेपाली कांग्रेसले छठपछि प्रत्येक जिल्लामा केन्द्रीय सदस्य खटाएर जनताको मत बुझ्ने र के–के कुरामा संशोधन गर्नु आवश्यक रहेको सुझाव आउँछ त्यसैअनुसारको संशोधन गर्ने उनले बताए ।

नेता कोइरालाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीमाथि लगाइएको महाअभियोगको अध्यनन नगरी कांग्रेसले निर्णय नलिने बताए ।

उनले अदालतमा विचाराधीन रहेको मुद्दा र प्रतिपक्षीसँग मिलेर माओवादीले महाअभियोग ल्याएका कारण आफूहरु त्यसमा अध्ययन नगरी प्रस्तावको पक्ष वा विपक्षमा नजाने प्रस्ट पारे ।

कोइरालाले हिन्दूराज्यको वकालत गरेपनि आजको कार्यक्रममा भने आफूहरु धर्मसापेक्ष र निरपेक्ष नभइ स्वतन्त्र हुनुपर्ने पक्षमा रहेको बताए । रासस

Skip This