
काठमाडौं, कात्तिक १४ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सम्वतलाई राष्ट्रिय सम्वतको रुपमा घोषणा गरिएकाले अब घोषणालाई व्यवहारमा उतार्ने संकल्प गर्नुपर्ने बताएका छन् ।
आइतबार नेपाल सम्वत् ११३७ को उपलक्ष्यमा थानकोटमा नेपाल सम्वतका प्रवर्तक एवं राष्ट्रिय बिभूति शङ्ख्वाधर शाक्वाको शालिक अनावरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले भने, ‘नेपाल सम्वत् नेवारहरुको मात्र सम्वत् होइन, सारा नेपालीको सम्वत् हो । यो नेपालको मौलिक सम्वत् पनि हो ।’
अघिल्लो कार्यकालमा आफूले यसलाई राष्ट्रिय सम्वत् घोषणा गरेको उल्लेख गर्दै दाहालले यसपटक सबै मिलेर यसलाई व्यवहारमा उतार्ने संकल्पको खाँचो औंल्याए ।
कार्यक्रममा शङ्ख्वाधर शाक्वा सामाजिक न्यायका अभियान्ता भएको स्मरण गर्दै प्रधानमन्त्री दाहालले भने, ‘शाक्वाले जनताको ऋणमोचन गर्नुभएको थियो । उहाँको यो काम नेवारहरुका लागि मात्रै नभएर त्यतिबेलाको सन्दर्भमा सामाजिक न्यायका क्षेत्रमा ठूलो अभियान थियो ।’
कार्यक्रममा प्रधानमन्त्री दाहालले सरकार संविधान संशोधन र कार्यान्वयन, भूकम्पको पूनर्निर्माण र सुशासनका लागि क्रियाशील रहेको जानकारी गराउँदै थानकोट–कलङ्कीको सडकलाई फराकिलो पार्ने काममा सरकारले विशेष जोड दिएको बताए ।
कार्यक्रममा सांसदहरु रुपा महर्जन, भीमसेनदास प्रधान, पूर्व राज्यमन्त्री दीलिप महर्जन लगायतले नेपाल सम्वतको महत्वबारे चर्चा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्