
काठमाडौं, कात्तिक १४ । स्पेनिस ला लिगाको गतराति भएको खेलमा साबिक विजेता बार्सिलोनाले जितेको छ ।
ग्रनाडालाई १–० ले हराउँदै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको हो । बार्सिलोनाको जितमा राफिनहाले ४८ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
क्लबका चर्चित स्ट्राइकरहरु लियोनल मेस्सी, नेइमार र सुआरेज भने गोल गर्नबाट चुके । बार्सिलोनालाई जोगाउन राफिन्हा नै निर्णायक बने । जितपछि बार्सिलोनाको १० खेलबाट २२ अंक भएको छ । ऊ शीर्ष स्थानको रियल मड्रिडभन्दा दुई अंकले पछि छ ।
लिग अन्तर्गत गएराति नै भएको अर्को खेलमा एथ्लेटिको मड्रिडले मालागालाई ४–२ ले हराएको छ । जितसँगै एथ्लेटिको मड्रिड तेस्रो स्थानमा उक्लिएको छ । एथ्लेटिकोको जितमा केविन गामेइरो र यानिक फरेरा कर्रास्कोले दुई–दुई गोल गरे ।
मालागाका लागि सान्ड्रो रामिरेज र इग्नासियो कमाचोले एक एक गोल गरेका थिए । जितपछि एथ्लेटिकोको १० खेलबाट २१ अंक भएको छ । राति नै भएको खेलमा स्पोर्टिङ गिजोनसँग १–१ को बराबरीमा रोकिएको सेभिल्ला २१ अंक नै भएपनि गोल अन्तरका आधारमा चौथो स्थानमा झरेको छ ।
प्रतिक्रिया दिनुहोस्