२३ श्रावण २०८२, शुक्रबार | Sat Aug 9 2025


तुलसीपुरका २३ वटा सामुदायिक विद्यालय मर्ज हुँदै


0
Shares

विवेक खड्का

दाङ, चैत १७ । तुलसीपुर उपमहानगरपालिका, दाङले नगर भित्रका २३ वटा सामुदायिक विद्यालय मर्ज गर्ने भएको छ । 

आइतबार सम्पन्न ५४ औँ कार्यपालिका बैठकले विद्यार्थी संख्या कम भएका २३ विद्यालय मर्ज गर्ने प्रस्ताव पारित गरेसँगै विद्यालयहरु मर्ज गर्न बाटो खुलेको हो ।

‘नगर सभाले पारित गरेपछि आगामी शैक्षिक सत्रबाट यो लागु हुनेछ,’ उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले भने । उनले शैक्षिक गुणस्तर वृद्धिका साथै राज्यको लगानीको सदुपयोग होस् भन्नका लागि यस्तो प्रस्ताव गरिएको बताए ।

उनले विद्यालय मर्ज भएपनि शिशु कक्षा यथावत रहने बताउँदै क्रमशः विद्यार्थी संख्या बढ्दै गए विद्यालय सञ्चालन गरिने प्रष्ट पारे ।

नगर कार्यपालिकाको बैठकले चैत २० गतेभित्र योजना शीर्षकान्तर गर्ने योजनाको संशोधन प्रस्ताव पेश गर्नुपर्ने निर्णय गरेको नगर प्रवक्ता सुर्यवहादुर डाँगीले बताए ।

उनले उपमहानगरपालिकाले सञ्चालन गर्न थालेको मेट्रो कलेजको भवन निर्माणको काम अगाडि बढाउने प्रस्ताव समेत गरेको जानकारी दिए ।

हिउँदे अधिवेशन चैत्त २७ गतेभित्र सम्पन्न गर्ने र उक्त सभाबाट विद्यालय मर्जको निर्णय अघि बढाउने उपमहानगर प्रवक्ता श्याम डाँगीले बताए । गत आर्थिक वर्षमा वितरण गरिएको टिनको छाना वितरण कार्यक्रमको समीक्षाका साथै नयाँ आर्थिक वर्षका लागि टिन वितरणको काम अगाडि बढाउने समेत निर्णय कार्यपालिका बैठकले गरेको छ ।