
इस्लामावाद, कात्तिक १४ । पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले सूचना मन्त्री परवेज रशिदलाई पदबाट हटाएका छन् ।
पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले मन्त्री रशिदलाई तत्कालका लागि आफ्नो जिम्मेवारी छोड्न आग्रह गरिएको बताएको छ । अक्टोबर ६ मा भएको राष्ट्रिय सुरक्षा समितिको बैठक सम्बन्धी सूचना चुहाएकाले सूचना मन्त्री रशिदलाई पदबाट बर्खास्त गरिएको हो ।
सुरक्षा समितिको बैठक सम्बन्धी खबर पत्रपत्रिकामा छापिँदा राष्ट्रिय सुरक्षा खतरामा परेको प्रधानमन्त्री कार्यालयबाट जारी गरिएको वक्तव्यमा उल्लेख छ । बैठकमा पाकिस्तानी सरकार र सेनाबीच मतभेद बढेको खबर पाकिस्तानी पत्रिका डनले छापेको थियो ।
त्यसपछि डन पत्रिकाका पत्रकार सिरिल अलमिदामाथि विदेश जान प्रतिबन्ध लगाइएको छ । मन्त्री रशिदको कमजोरीले खबर बाहिर चुहिएकाले उनलाई पदबाट हटाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्