२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


दुई जिल्लाको सीमामा रहेको ६ नम्बर बुधबारेबासीको पिडा (भिडियो)


0
Shares

जितेन्द्र भण्डारी
पाँचथर, कात्तिक १४ । पाँचथर र धनकुटाको सीमानामा रहेको ६ नम्बर बुधबारे पाँचथर सदरमुकाम फिदिमदेखि २० कोष टाढा छ ।

जिल्लाको सीमावर्ती गाविस दूरदिम्बा वडा नम्बर १ र धनकुटा जिल्लाको ६ नम्बर बुधबारेको वडा नम्बर १ मा अवस्थित ६ नम्बर बुधबारे अहिले सम्वन्धित जिल्लाका राजनीतिक दल, सरकारी कार्यालयको वेवास्ताका कारण मर्कामा परेको छ ।

पाँचथर र धनकुटाको सीमानामा रहेको ६ नम्बर बुधबारेमा जिल्ला प्रहरी कार्यालय धनकुटाले प्रहरी चौकी त राखेको छ, तर चौकीले धनकुटाका नागरिकको मात्रै शान्ति सुरक्षामा खटिने गरेको पाँचथरबासीको गुनासो छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरले त्यस गाविसमा प्रहरी चौकी नराख्दा त्यस क्षेत्रका स्थानीय ६ घण्टाको पैदल दूरीमा रहेको लिम्बा गाविसमा अवस्थित खान्द्रोङ प्रहरी चौकी धाउन बाध्य छन् । पाँचथरबासीको तर्फबाट पटक पटक प्रहरी चौकी माग गर्दा पनि गृह मन्त्रालयले कुनै वास्ता नगरेको स्थानीय गणेश वाजी बताउँछन् ।

धनकुटाको नेपाली सेना, पाँचथरको जग्गामा बसेर धनकुटाबासीको सेवामा तल्लिन छ । यस ठाउँका स्थानीयले घर जग्गा खरिद बिक्री गरी जग्गा रजिष्ट्रेशन गर्नुपर्‍यो भने दुवै जिल्ला मालपोत कार्यालय धाउनुपर्ने बाध्यता छ । आधा जग्गा पाँचथर र आधा धनकुटामा पर्ने हुँदा दुवै मालपोत कार्यालयमा गएर जग्गा पास गर्नुपर्ने उनीहरुको गुनासो छ ।

ऐतिहासिक र पर्यटकीयस्थलहरु समेत रहेको ६ नम्बर बुधबारेलाई एकले अर्को जिल्लाको मुख ताकेर बस्ने गर्दा आफूहरु मर्कामा परेको स्थानीय हेमकर्ण तुम्साले बताए ।

यस क्षेत्रमा सडक पुगे पनि स्तरोन्नति नहुँदा बर्खाको समयमा प्रायः बन्द नै हुने गर्दछ । यस क्षेत्रका स्थानीय सदरमुकाम फिदिम आउनुपर्दा मोरङको लेटाङ हुँदै उर्लाबारी, त्यसपछि झापा, इलाम हुँदै आउनुपर्ने समस्या छ । राँके, रवि हुँदै ६ नम्बर बुधबारेको सडकको कालोपत्रे चाडो भइदिए आफूहरुलाई सहज हुने स्थानीय कर्ण लिम्बू बताउँछन् ।

यस ठाउँमा सुविधा सम्पन्न हस्पिटल र क्याम्पसको ब्यवस्था गर्न समेत स्थानीयको माग छ । यहाँ रहेका पर्यटकीय क्षेत्रहरुलाई सदुपयोग गर्न सके स्थानीयले गाउँमै रोजगारीको अवसर समेत पाउने छन् ।