२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


पशुपतिनाथमा यसरी हुँदैछ भारतीय राष्ट्रपतिको विशेष पूजा


0
Shares

                                                                       फाइल फोटो

काठमाडौं, कात्तिक १४ । पशुपतिनाथ मन्दिरमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीको विशेष पूजाको तयारी हुँदैछ ।

यही कात्तिक १८ गते बिहान राष्ट्रपति मुखर्जीले पशुपतिमा विशेष पूजा गर्ने जानकारी प्राप्त भएअनुसार तयारी सुरु गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. गोविन्द टण्डनले राससलाई जानकारी दिए ।

‘राष्ट्रपति मुखर्जीले नेपालका राष्ट्रपति, पूर्वराजाले जस्तै पशुपतिनाथ मन्दिरको गर्भगृहमा दक्षिपट्टि बसी अभिषेकसहितको विशेष पूजा गर्नुहुनेछ, मूलभट्ट गणेश भट्टले विशेष पूजा गराउनुहुनेछ, २२ जना नेपाली वैदिक पण्डितले वैदिक रुद्राभिषेक गर्नुहुनेछ’–उनले भने ।

पशुपतिको पश्चिम मूलद्वारबाट भारतीय राष्ट्रपति मुखर्जी प्रवेश गरेपछि नेपाल वेद विद्याश्रमका १०८ वटुकले उनको स्वागत्मा विशेष स्वस्तिवाचन गर्ने कार्यक्रम छ ।

गार्गी कन्या गुरुकुलका छात्राले पनि पशुपति परिसरको दायाँबायाँ बसी उनको स्वागत् गर्नेछन् ।

राष्ट्रपति मुखर्जी गौशालाचोकबाट पशुपति परिसरमा प्रवेश गरेपछि उनको स्वागत्मा धिमेबाजा, पन्चेबाजालगायत बाजागाजा एवं मौलिकधुन प्रस्तुत् गरिनेछ । स्थानीयबासीले परिसरमा उभिएर राष्ट्रपति मुखर्जीको स्वागत् गर्नेछन् ।

पशुपतिमा विशेष पूजाको तयारीस्वरुप प्रवेशद्वारको निर्माण, सरसफाइलगायत काम भइरहेको छ । विशेष पूजालाई ध्यानमा राखी पाशुपत क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।

मित्रराष्ट्र भारतका राष्ट्र«ाध्यक्षको विशेष पूजालाई अविस्मरणीय बनाउने गरी तयारी भइरहेको सदस्यसचिव डा. टण्डनको भनाइ थियो ।

भ्रमणलाई ध्यानमा राखी पशुपति क्षेत्रमा भइरहेको ढल बिच्छ्याउने एवं भूकम्पपछिको पुनःनिर्माणलाई पनि थाती राखिएको छ ।

राष्ट्रपति मुखर्जी पशुपति दर्शन विधिअनुसार पशुपति परिक्रमा गरी गर्भगृहमा प्रवेश गरेर विशेष पूजा सकी फर्केपछि आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम छ । त्यसपछि कोषका तर्फबाट उनलाई उपहारस्वरुप मायाको चिनो प्रदान गरिनेछ ।

भारतीय राष्ट्र«ाध्यक्षले १८ वर्षपछि पशुपति दर्शन गर्न लागेका हुन् । यसअघि पूर्वराष्ट्र«पति के आर नारायणनले पशुपतिमा पूजा गरेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वि.सं. २०७१ साउनमा पनि पशुपतिमा विशेष पूजा गरेका थिए ।

पशुपतिनाथ मन्दिरलाई द्वादश ज्योतिर्लिंगको पनि शिर मानिने भएकाले भारत एवं विश्वभरका हिन्दू धर्मावलम्बीको विशेष आकर्षणको केन्द्र बन्ने गरेको छ ।

वि.सं. २०६६ मा भेटीघाटी पारदर्शी एवं पूजा व्यवस्थासम्बन्धी नियमावली सार्वजनिक भएपछि पशुपतिमा गरिने पूजाको रकम तोकिएको र विशिष्ट व्यक्तिको विशेष पूजामा तत्कालै रसिद काटिने परम्परा छ । रासस