२५ श्रावण २०८२, आइतबार | Sun Aug 10 2025


भारतीय राष्ट्रपतिको भ्रमण अवधिमा सवारी आवागमन रोकिँदैन : प्रहरी


0
Shares

                                                                             फाइल फोटो

काठमाडौं, कात्तिक १४ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको कात्तिक १७ देखि १९ गतेसम्म हुने नेपाल भ्रमणकाबेला सर्वसाधारणको सवारी आवागमनलाई सक्दो सहज बनाउने प्रयास भइरहेको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता हेमन्त मल्ल ठकुरीले भारतीय राष्ट्रपतिको भ्रमण अवधिमा अरु सवारी–साधनको आवागमन ठप्प हुनसक्ने भय जनमानसमा देखिएको भन्दै त्यो गलत भएको राससलाई बताए ।

उनले भने–‘भारतीय राष्ट्रपतिको सवारी हुनेबेलामामात्रै त्यस रुटमा केही समयका लागि अन्य सवारी रोकिन्छ । सवारी सकिएपछि तत्कालै उक्त रुटमा सवारी खुला हुन्छ ।’

सवारी नभएको अरु रुटमा भ्रमणकोक्रममा सवारी आवागमन नरोकिने उनले स्पस्ट पारे । सवारी भएको रुटमा वैकल्पिक रुटको प्रयोग गर्नसमेत प्रहरीले जनसाधारणसँग आग्रह गरेको छ ।

सवारीका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त नहोस् भन्ने हेतुले ट्राफिक प्रहरीको परिचालनलाई चुस्तदुरुस्त बनाइएको प्रवक्ता ठकुरीको भनाइ छ ।

भ्रमण अवधिभर ट्राफिक प्रहरीले सन्चालन गरेको ९५ दशमलव ६ मेगाहर्जको एफएमबाट १५/१५ मिनेटमा सवारी ‘अपडेट’ दिइने र सोहीअनुरुप यात्रा तय गर्न सबैसँग उनले आग्रह गरे ।

त्यस्तै, १०३ मा डायल गरेर सवारीचापको अवस्थाबारे जानकारी लिन सकिने व्यवस्था पनि गरिएको छ । रासस